‘पहिरोले थुनिएको नदी फुट्दा बुढीगण्डकीमा आकस्मिक बाढी, दुई लाख एसएमएसमार्फत सतर्कता’

२५ आश्विन २०८३, आईतवार १२:२८

काठमाडौँ ।  गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जेस्थित बुढीगण्डकी नदीको सहायक नदीमा पहिरोले नदी थुनिएर फुट्दा आकस्मिक बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा छिटपुट मात्र वर्षा भएको देखिएकाले तत्कालीन वर्षाका कारण बाढी आएको सम्भावना नरहेको जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रारम्भिक सूचना र भू–उपग्रहका तस्बिरहरूको अवलोकनका आधारमा पहिरोले नदी थुनिएर फुट्दा एक्कासि बाढी आएको हुन सक्ने अनुमान गरिएको हो। घटनाको वास्तविक कारणबारे विस्तृत प्राविधिक विश्लेषण भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बुढीगण्डकी–आरुघाट बाढी मापन केन्द्रमा आज बिहान ६:३० बजे नदीको जलसतह २.२८ मिटरबाट बढेर ३.६६ मिटर पुगेको थियो। उक्त केन्द्रमा सतर्कता तह ४.५० मिटर निर्धारण गरिएको छ। बिहानै बाढीसम्बन्धी प्रारम्भिक सूचना प्राप्त भएपछि नदीको तटीय क्षेत्र हुँदै बेनीघाटसम्मका सर्वसाधारणलाई मोबाइल एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरिएको थियो।

बिहान ७:५० बजे नदीको जलसतह बढेर ५.०१ मिटर पुगेको थियो, जुन निर्धारित खतरा तह पाँच मिटरभन्दा माथि हो। त्यसपछि केही घटेको जलसतह पुनः तीव्र रूपमा बढ्दै बिहान ८:३० बजे ६.२२ मिटर र ८:४० बजे ८.४३ मिटर पुगेको थियो। जलसतह तीव्र रूपमा बढिरहेका बेला बाढीले पुलसहित मापन केन्द्र नै बगाएपछि त्यसपछिको जलसतहसम्बन्धी थप विवरण प्राप्त हुन नसकेको महाशाखाले जनाएको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै बिहान करिब ८ बजे फेसबुक लाइभमार्फत थप जानकारी सार्वजनिक गरिएको थियो। त्यसक्रममा बुढीगण्डकी नदीको तटीय क्षेत्रदेखि बेनीघाटसम्मका जोखिमयुक्त बस्ती खाली गर्न तथा आवश्यकताअनुसार राजमार्ग र करिडोरमा आवागमन बन्द गर्न अनुरोध गरिएको थियो। त्यस्तै, मुग्लिङसम्म उच्च सतर्कता अपनाउन र तनहुँ, चितवन तथा नवलपरासीका सम्भावित प्रभावित क्षेत्रमा समेत सावधानी अपनाउन अपिल गरिएको थियो।

महाशाखाले बिहान ९:२५ बजे पुनः एसएमएसमार्फत सूचना सम्प्रेषण गरी सर्वसाधारण तथा सरोकारवालालाई सुरक्षित स्थानमा जान र थप सूचना जारी नभएसम्म सुरक्षित स्थानमै रहन आग्रह गरेको छ। यस अवधिमा दुई पटक गरी करिब दुई लाख एसएमएस पूर्वसूचनाका रूपमा सम्प्रेषण गरिएको विज्ञप्तिमा उल्लेख छ।

बुढीगण्डकी नदीको तटीय तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आज साँझसम्मै नदी किनार र जोखिमयुक्त बस्तीबाट टाढा रही सुरक्षित स्थानमा बस्न महाशाखाले अनुरोध गरेको छ। नदीको बहाव घटेको देखिए पनि बाढीको जोखिम पूर्ण रूपमा नटरेको भन्दै पुल तथा जोखिमयुक्त सडकमा आवागमन नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरिएको छ।

बाढीको अवस्थाबारे थप प्राविधिक विश्लेषण भइरहेको र त्यसबाट प्राप्त निष्कर्ष तथा नदीको अवस्थासम्बन्धी अद्यावधिक जानकारी सार्वजनिक गरिने महाशाखाले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*