हिमालयन एअरलाइन्सका कर्मचारी पक्राउ

२८ आश्विन २०८३, बुधबार १०:२१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जाने यात्रुसँग पुनः श्रम स्वीकृति गराइदिने भन्दै रकम असुल गरेको आरोपमा हिमालयन एअरलाइन्सका कर्मचारी हंशराज जैशी पक्राउ परेका छन्।

विमानस्थलस्थित अध्यागमन कार्यालयले जैशीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाएको हो।

अध्यागमन कार्यालयका अनुसार असोज २६ गते वैदेशिक रोजगारीका लागि विदेश जान लागेका मीनबहादुर रावतको श्रम स्वीकृतिको म्याद समाप्त भएको थियो। सोही अवस्थामा पुनः श्रम स्वीकृति गराइदिने र यात्रा सहजीकरण गर्ने आश्वासन दिएर जैशीले रावतसँग रकम लिएको भन्दै अध्यागमन कार्यालयमा फोनमार्फत उजुरी परेको थियो।

उजुरीपछि अध्यागमन कार्यालयले गरेको प्रारम्भिक छानबिनका क्रममा जैशीको ई–सेवा खातामा १४ हजार रुपैयाँ ट्रान्सफर भएको खुलेको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन उनलाई सुरक्षा कार्यालयको जिम्मा लगाइएको अध्यागमनले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*