राजमार्गका होटल तथा खाजा घरलाई मूल्यसूची राख्न र बिल दिन विभागको निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग आसपासमा सञ्चालित होटल, रेस्टुरेन्ट र खाजा घरलाई मूल्यसूची अनिवार्य रूपमा राख्न, ग्राहकलाई बिल उपलब्ध गराउन र खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न निर्देशन दिएको छ ।
विभागले सार्वजनिक सूचना जारी गर्दै उपभोक्ताबाट प्राप्त उजुरी तथा गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उपभोक्ताको स्वास्थ्य, सुरक्षा र हित संरक्षणका लागि सम्बन्धित व्यवसायीलाई यस्तो निर्देशन दिएको हो ।
विभागका अनुसार होटल, रेस्टुरेन्ट तथा खाजा घरले ग्राहकले सहजै देख्न सक्ने स्थानमा मूल्यसूची राख्नुपर्नेछ । बिक्री गरिएका वस्तु तथा प्रदान गरिएका सेवाको वास्तविक मूल्य स्पष्ट हुने गरी ग्राहकलाई अनिवार्य रूपमा बिल वा बिजक उपलब्ध गराउनुपर्नेछ ।
त्यस्तै, खाद्यवस्तुको तयारी, भण्डारण तथा बिक्रीवितरणमा स्वच्छता र गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्न विभागले निर्देशन दिएको छ । भान्सा, भोजन कक्ष, भाँडाकुँडा, खानेपानी तथा शौचालयमा उचित सरसफाइ कायम राख्न र म्याद गुज्रिएका, दूषित तथा खान अयोग्य खाद्यवस्तु बिक्रीवितरण नगर्न पनि विभागले आग्रह गरेको छ ।
विभागले उपभोक्तालाई मर्यादित, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्न व्यवसायीहरूलाई सचेत गराएको छ । अनुगमनका क्रममा प्रचलित कानुन तथा उपभोक्ता हित संरक्षणसम्बन्धी व्यवस्थाको उल्लङ्घन भएको पाइएमा कानुनबमोजिम आवश्यक कारबाही गरिने विभागले जनाएको छ ।











