दशैँ, तिहार र छठमा डिजिटल वालेटमा राहत, दैनिक ५० पटकसम्म रकम जम्मा गर्न पाइने

२९ आश्विन २०८३, बिहीबार १८:०७

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बडा दशैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्न पाउने दैनिक सीमाको संख्या अस्थायी रूपमा बढाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक परिपत्र जारी गर्दै प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गरेको हो।

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको अ.प्रा. निर्देशन नं. ५/०८२ को बुँदा नं. ३ को उपबुँदा २ मा प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेको थियो। तर, चाडपर्वको समयमा हुने वित्तीय कारोबारलाई सहज बनाउने उद्देश्यले राष्ट्र बैंकले उक्त सीमालाई निश्चित अवधिका लागि बढाएको हो।

नयाँ व्यवस्थाअनुसार बडा दशैँको अवसरमा २०८३ साल असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म र शुभ दीपावली तथा छठ पर्वको अवसरमा कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म प्राकृतिक व्यक्तिको वालेटमा दैनिक बढीमा ५० पटकसम्म रकम जम्मा गर्न सकिनेछ।

उक्त अवधिमा वालेटमा रकम जम्मा गर्ने कारोबारको संख्या र कारोबारको कुल रकमको विवरण नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई जानकारी गराउनसमेत भुक्तानी सेवा प्रदायकहरूलाई निर्देशन दिइएको छ।

चाडपर्वका समयमा डिजिटल भुक्तानी तथा वालेटमार्फत हुने कारोबार बढ्ने भएकाले रकम जम्मा गर्ने संख्याको सीमा अस्थायी रूपमा बढाइएको हो। यो व्यवस्था तोकिएका अवधिमा मात्र लागू हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*