ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष विश्वकै उत्कृष्ट बैंकको अवार्डबाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सन् २०२६ को ‘बेष्ट बैंक अवार्ड’ प्राप्त गरेको छ। अन्तर्राष्ट्रिय वित्तीय पत्रिका ग्लोबल फाइनान्सले प्रदान गर्ने यो सम्मान बैंकले लगातार तेस्रो वर्ष प्राप्त गरेको हो। यसअघि बैंकले सन् २०२४ र २०२५ मा पनि उक्त अवार्ड जितेको थियो।
थाइल्यान्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।
ग्लोबल फाइनान्सले बैंकको वित्तीय स्रोत परिचालन क्षमता, संस्थागत विश्वसनीयता, भौगोलिक तथा डिजिटल पहुँच, व्यावसायिक साझेदारी, ग्राहककेन्द्रित नवीन सेवा, आधुनिक प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, दिगो कर्जा प्रवाह र जोखिम व्यवस्थापनलाई मूल्याङ्कनको आधार बनाएको जनाएको छ।
अवार्ड समारोहमा एसिया–प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न देशका वित्तीय संस्थालाई पनि सम्मान गरिएको थियो। बैंक अफ चाइना, स्टेट बैंक अफ इन्डिया, आईसीबीसी, यूओबी मलेसिया, सिटी बैंक बङ्गलादेश र एमयूएफजी बैंक जापानलगायतका बैंक विभिन्न विधामा पुरस्कृत भएका थिए।
बैंकले यसअघि ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ तथा युरोमनी अवार्ड फर एक्सलेन्स सन् २०२२, २०२४ र २०२५ मा प्राप्त गरिसकेको छ। त्यस्तै ‘बेष्ट बैंक नेपाल’ को उपाधि सन् २०२४, २०२५ र २०२६ मा लगातार पाएको बैंकले जनाएको छ। यसका अतिरिक्त बैंकले ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेष्ट इम्प्लोयर’ लगायतका सम्मानसमेत प्राप्त गरेको छ।











