वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति साढे ४७ अर्ब नाघ्यो: हिमालयनको उच्च, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूमा थुप्रिएको गैरबैंकिङ सम्पत्ति एक वर्षमा ११ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्म २० वटा वाणिज्य बैंकको कुल गैरबैंकिङ सम्पत्ति ४७ अर्ब ६९ करोड ५९ लाख रुपैयाँ पुगेको हो।
गत वर्षको सोही अवधिमा यस्तो सम्पत्ति ४२ अर्ब ९१ करोड ५ लाख रुपैयाँ रहेको थियो । एक वर्षमा बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४ अर्ब ७८ करोड ५४ लाख रुपैयाँ अर्थात् ११.१५ प्रतिशतले बढेको हो ।
बैंकहरूले कर्जा प्रवाह गर्दा धितो राखिएको सम्पत्ति ऋणीबाट कर्जा असुल हुन नसकेपछि लिलामीमा निकाल्ने गर्छन् । तर, लिलामी प्रक्रियाबाट बिक्री हुन नसकेमा बैंक आफैंले त्यस्तो सम्पत्ति सकार्नुपर्ने अवस्था आउँछ । यसरी बैंकको स्वामित्वमा आएको घरजग्गा तथा अन्य धितो गैरबैंकिङ सम्पत्तिका रूपमा गणना गरिन्छ । यस्तो सम्पत्ति बैंकको स्वामित्वमा आएपछि त्यसबाट उत्पन्न हुन सक्ने जोखिम व्यवस्थापन गर्न शतप्रतिशत रकम प्रावधानमा राख्नुपर्ने व्यवस्था छ ।
अर्थतन्त्रमा देखिएको सुस्तता, घरजग्गा कारोबारमा आएको मन्दी तथा धितो बिक्री हुन नसक्दा बैंकहरूमा गैरबैंकिङ सम्पत्ति थुप्रिने क्रम बढेको हो । बैंकहरूले पटक–पटक लिलामी तथा बिक्रीसम्बन्धी सूचना जारी गरे पनि अपेक्षित रूपमा सम्पत्ति बिक्री गर्न नसक्दा यस्तो अवस्था आएको हो ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गैरबैंकिङ सम्पत्तिको आकारका आधारमा हिमालयन बैंक पहिलो स्थानमा छ । बैंकको यस्तो सम्पत्ति गत वर्षको भदौमा ५ अर्ब ८४ करोड १५ लाख रुपैयाँ रहेकामा चालु वर्षको सोही अवधिमा ९.७४ प्रतिशतले बढेर ६ अर्ब ४० करोड ९१ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा तीव्र गतिमा बढ्ने बैंकमध्ये अगाडि देखिएको छ । बैंकको यस्तो सम्पत्ति गत वर्ष ३ अर्ब ८२ करोड २० लाख रुपैयाँ रहेकामा ५३.४३ प्रतिशतले बढेर ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
ग्लोबल आईएमई बैंकको गैरबैंकिङ सम्पत्ति भने घटेको छ । गत वर्ष ६ अर्ब ८ करोड ४८ लाख रुपैयाँ रहेको यस्तो सम्पत्ति ६.७५ प्रतिशतले घटेर ५ अर्ब ६७ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । प्राइम कमर्सियल बैंकको गैरबैंकिङ सम्पत्ति २२.४५ प्रतिशतले बढेर ४ अर्ब ९० करोड १६ लाख रुपैयाँ पुगेको छ ।
एनआईसी एशिया बैंकको गैरबैंकिङ सम्पत्ति ८.७२ प्रतिशतले घटेर ४ अर्ब ११ करोड ८० लाख रुपैयाँ कायम भएको छ। नबिल बैंकको गैरबैंकिङ सम्पत्ति पनि १०.९१ प्रतिशतले घटेको छ । गत वर्ष ३ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ रहेको यस्तो सम्पत्ति यस वर्ष ३ अर्ब ८ करोड २० लाख रुपैयाँमा झरेको छ ।
प्रभु बैंकको गैरबैंकिङ सम्पत्ति भने ५०.१० प्रतिशतले बढेको छ । गत वर्ष १ अर्ब ६७ करोड २९ लाख रुपैयाँ रहेको यस्तो सम्पत्ति बढेर २ अर्ब ५१ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
लक्ष्मी सनराइज बैंकको गैरबैंकिङ सम्पत्ति ७.२१ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यस बैंकको यस्तो सम्पत्ति २ अर्ब २१ करोड ६३ लाख रुपैयाँ थियो ।
कुमारी बैंकको गैरबैंकिङ सम्पत्ति १०.८८ प्रतिशतले घटेर २ अर्ब २४ करोड ६८ लाख, एनएमबी बैंकको गैरबैंकिङ सम्पत्ति १०.६५ प्रतिशतले बढेर १ अर्ब ९५ करोड १२ लाख रुपैयाँ र सिटिजन्स बैंकको गैरबैंकिङ सम्पत्ति ४०.५० प्रतिशतले बढेर १ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।
कृषि विकास बैंकको गैरबैंकिङ सम्पत्ति पनि १०.५० प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १ अर्ब ३४ करोड १५ लाख रुपैयाँ रहेको यस्तो सम्पत्ति बढेर १ अर्ब ४८ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
नेपाल एसबीआई बैंकको गैरबैंकिङ सम्पत्ति ४३.६२ प्रतिशतले बढेको छ । गत वर्ष ९४ करोड ७६ लाख रुपैयाँ रहेको यस्तो सम्पत्ति यस वर्ष १ अर्ब ३६ करोड १० लाख रुपैयाँ पुगेको छ । सानिमा बैंकको गैरबैंकिङ सम्पत्ति २७.२५ प्रतिशतले बढेर १ अर्ब २७ करोड ३७ लाख रुपैयाँ कायम भएको छ ।
सिद्धार्थ बैंकको गैरबैंकिङ सम्पत्ति १५.७५ प्रतिशतले बढेर ८९ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने माछापुच्छ्रे बैंकको गैरबैंकिङ सम्पत्ति ५.४० प्रतिशतले बढेर ६३ करोड ३२ लाख रुपैयाँ पुगेको हो ।
एभरेष्ट बैंकको गैरबैंकिङ सम्पत्ति भने ११.१७ प्रतिशतले घटेको छ । गत वर्ष ५६ करोड ९४ लाख रुपैयाँ रहेको यस्तो सम्पत्ति यस वर्ष ५० करोड ५८ लाख रुपैयाँमा झरेको छ । नेपाल बैंकको गैरबैंकिङ सम्पत्ति ३६.५५ प्रतिशतले बढेर ३६ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ८.०३ प्रतिशतले बढेको छ । गत वर्ष २५ करोड ६७ लाख रुपैयाँ रहेको यस्तो सम्पत्ति यस वर्ष २७ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।











