उदयपुरमा ब्रेक फेल भएर बोलेरो जिप दुर्घटना, १५ जना घाइते

९ कार्तिक २०८३, सोमबार १३:२२

काठमाडौं । उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। ब्रेक फेल भएपछि जिप सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा चालकसहित १५ जना घाइते भएका हुन्। घाइतेमध्ये उदयपुरको कटारी नगरपालिका–२ का ७१ वर्षीय रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको छ।

दुर्घटनामा जिप चालक कटारी नगरपालिका–११ का २९ वर्षीय निर्पबहादुर खड्का पनि घाइते भएका छन्। त्यस्तै झापाको बिर्तामोड नगरपालिका–६ की ३७ वर्षीया मेनुका मगर भुजेल, उनका १४ वर्षीय छोरा रेहान भुजेल र ७ वर्षीया छोरी प्रिन्सिका भुजेल घाइते भएका छन्।

अन्य घाइतेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ की १६ वर्षीया तेन्जु लामा, रामबहादुर मगरकी ३५ वर्षीया छोरी लिसना मगर, कटारी नगरपालिका–२ की ६० वर्षीया गोमा श्रेष्ठ, कटारी–५ की ३९ वर्षीया अम्बिका दाहाल र उनका १० वर्षीय छोरा दिक्षित दाहाल रहेका छन्।

त्यसैगरी कटारी नगरपालिका–११ की २१ वर्षीया निर्मला राउत, २६ वर्षीया दिलकुमारी हायु र उनका २२ महिनाका छोरा दियांस हायु, महोत्तरीको गौशाला नगरपालिका–१ की ३५ वर्षीया कविता रेग्मी तथा सिन्धुलीको दुधौली नगरपालिका–११ का प्रेम पौडेलका १० वर्षीय छोरा प्रदीप पौडेल पनि घाइते भएका छन्।

घाइते सबैको कटारी अस्पतालमा उपचार भइरहेको छ। चालक खड्का सामान्य घाइते भएकाले उपचारपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*