कात्तिक १३ र १४ गते विद्युत् सेवा प्रभावित हुन सक्ने, प्राधिकरणले गरायो सतर्क

११ कार्तिक २०८३, बुधबार १२:४९

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कात्तिक १३ र १४ गते देशका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले कात्तिक ९ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार समुद्री क्षेत्रमा विकसित भइरहेको शक्तिशाली चक्रवातको प्रभावले नेपालमा वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ । प्रतिकूल मौसमका कारण बाढी, पहिरो, चट्याङ, हुरीबतास र डुबानको जोखिमसमेत रहन सक्ने प्राधिकरणले जनाएको छ ।

सम्भावित वर्षा र प्रतिकूल मौसमले विद्युत्का पोल, तार, ट्रान्सफर्मरलगायत संरचनामा क्षति पुर्‍याउन सक्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुन सक्ने प्राधिकरणको भनाइ छ ।

विद्युत् संरचनामा हुन सक्ने क्षति न्यूनीकरण गर्न तथा सेवा अवरुद्ध भएमा तत्काल मर्मतसम्भार गरी आपूर्ति नियमित गर्न सम्बन्धित कार्यालयका कर्मचारीलाई तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले प्रतिकूल मौसमका बेला सम्भावित जोखिमको आकलन गरी सुरक्षित स्थानमा बस्न तथा अत्यावश्यक कामबाहेक बाहिर आवतजावत नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । यस्तै, विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउन र आधिकारिक स्रोतबाट प्राप्त मौसमसम्बन्धी सूचनालाई आधार मानेर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विद्युत् सेवा अवरुद्ध भएमा वा विद्युत्का पोल, तार तथा अन्य संरचनामा क्षति पुगेको देखिएमा सम्बन्धित वितरण केन्द्र वा हेल्पडेस्कमा सम्पर्क गर्न प्राधिकरणले उपभोक्तालाई अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*