मलेसियाद्वारा नेपालको प्रस्ताव अस्वीकृत, १ हजार ११४ म्यानपावरलाई कामदार पठाउन रोक

११ कार्तिक २०८३, बुधबार १३:४४

काठमाडौँ । मलेसिया सरकारले नेपालका सबै इजाजतप्राप्त म्यानपावर कम्पनीमार्फत कामदार भर्ना गर्न दिने नेपालको प्रस्ताव अस्वीकार गरेको छ। मलेसियाले सीमित म्यानपावर कम्पनीमार्फत मात्रै नेपाली कामदार भर्ना गर्ने पुरानै व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको हो।

मलेसियाको मानव संसाधन मन्त्रालयले युवा, श्रम तथा रोजगार मन्त्रालयलाई पठाएको पत्रमा नेपालका १ हजार ११४ वटा सक्रिय म्यानपावर कम्पनीलाई मलेसियाको ‘फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्लुसीएमएस) मा मुख्य एजेन्सीका रूपमा आबद्ध गराउने प्रस्ताव स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ।

मलेसियाका मानव संसाधन मन्त्री दातो श्री रामानन रामाकृष्णनले नेपालका श्रम मन्त्री रामजी यादवलाई पठाएको पत्रअनुसार, नेपालले अघि सारेको प्रस्तावबारे मलेसियाको मन्त्रिपरिषद्मा समेत गहन छलफल भएको थियो। तर, छलफलपछि मलेसिया सरकारले आफ्नो पुरानै नीतिलाई निरन्तरता दिने निर्णय गरेको हो।

नेपालले गत सेप्टेम्बर ११ मा कूटनीतिक नोटमार्फत र सेप्टेम्बर २४ मा दुई देशका मन्त्रीबीच भएको टेलिफोन वार्तामा सबै सक्रिय म्यानपावर कम्पनीलाई एफडब्लुसीएमएसमा आबद्ध गराउन आग्रह गरेको थियो। तर, मलेसियाले २५ वटा मुख्य म्यानपावर कम्पनी र प्रत्येक मुख्य कम्पनीअन्तर्गत १० वटा सहयोगी कम्पनीमार्फत मात्रै नेपाली कामदार भर्ना गर्ने व्यवस्था कायम राख्ने भएको छ।

मलेसिया सरकारले सीमित म्यानपावर कम्पनीमार्फत कामदार भर्ना गर्दा अनुगमन, लेखापरीक्षण र नियमन प्रभावकारी हुने दाबी गरेको छ। धेरै कम्पनीलाई एकैपटक व्यवस्थापन गर्दा प्रशासनिक जटिलता बढ्ने भन्दै सीमित कम्पनीलाई जिम्मेवार बनाउँदा कामदारका गुनासा तथा श्रम विवाद छिटो समाधान गर्न सकिने उसको तर्क छ।

मलेसियाका अनुसार, कडा जाँचपास गरिएका सीमित एजेन्सीमार्फत कामदार भर्ना गर्दा अनैतिक भर्ना प्रक्रिया, सम्झौताविपरीत काममा लगाउने प्रवृत्ति, कामदारबाट अत्यधिक शुल्क असुल्ने तथा श्रम शोषणजस्ता जोखिम कम गर्न सकिन्छ। यसबाट नेपाली कामदारको अधिकार, सुरक्षा र हित संरक्षणमा सहयोग पुग्ने मलेसियाको दाबी छ।

त्यस्तै, सीमित कम्पनीमा आधारित व्यवस्थाले डिजिटल प्रणालीमार्फत कामदारको विवरण व्यवस्थापन गर्न सहज हुने, पारदर्शिता बढ्ने र नक्कली कागजातको प्रयोग नियन्त्रण गर्न मद्दत पुग्ने मलेसियाले जनाएको छ। राम्रो कार्यसम्पादनको इतिहास र बलियो आर्थिक अवस्था भएका कम्पनीलाई मात्रै जिम्मेवारी दिइएको पनि पत्रमा उल्लेख छ।

काठमाडौँस्थित मलेसियाली दूतावासमार्फत परराष्ट्र मन्त्रालय हुँदै श्रम मन्त्रालयलाई पठाइएको पत्रमा मलेसियाले नेपालसँगको ऐतिहासिक तथा द्विपक्षीय सम्बन्धलाई महत्त्व दिने जनाएको छ। सीमित म्यानपावर कम्पनीमार्फत कामदार भर्ना गर्ने व्यवस्थाले दुवै देशको हित गर्ने र सुरक्षित, मर्यादित तथा पारस्परिक लाभदायक श्रम आप्रवासनलाई प्रोत्साहन गर्ने विश्वाससमेत मलेसियाले व्यक्त गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*