रसुवा बाढीको बीमा दाबी भुक्तानी ८२ करोड नाघ्यो, २० अर्बभन्दा बढीको दाबी

११ कार्तिक २०८३, बुधबार १०:४८

काठमाडौं । गएको भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका भौतिक संरचना, सवारीसाधन तथा अन्य सम्पत्तिको बीमा दाबी भुक्तानी ८२ करोड १३ लाख रुपैयाँ नाघेको छ। बीमा कम्पनीहरूले अग्रिम भुक्तानीसहित उक्त रकम बराबरको दाबी फर्छ्योट गरेका हुन्।

नेपाल बीमा प्राधिकरणका अनुसार बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीहरूमा कुल २० अर्ब ९० करोड ४९ लाख रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ। हालसम्म यससम्बन्धी २ हजार ४९१ वटा दाबी दर्ता भएका छन्। प्रारम्भिक दाबी रकमको तुलनामा भुक्तानी भएको रकम भने निकै कम छ।

हिमालयन एभरेष्टमा सबैभन्दा बढी दाबी

प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ। कम्पनीमा २०९ बीमितबाट ६ अर्ब ६१ करोड ५५ लाख रुपैयाँ बराबरको दाबी परेकोमा हालसम्म २३ करोड २३ लाख रुपैयाँ भुक्तानी भएको छ।

त्यस्तै, सानिमा जिआईसी इन्स्योरेन्समा १९२ बीमितबाट ३ अर्ब ४३ करोड ६ लाख रुपैयाँ बराबरको दाबी परेको छ। कम्पनीले हालसम्म ७६ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ।

शिखर इन्स्योरेन्समा ४५९ बीमितबाट २ अर्ब ६३ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी परेकोमा २१ करोड ४७ लाख रुपैयाँ भुक्तानी भएको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले भने दाबी भुक्तानीमा अग्रता लिएको छ। कम्पनीमा १ अर्ब ७५ करोड ९१ लाख रुपैयाँ बराबरको दाबी परेकोमा हालसम्म २६ करोड ६३ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।

यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ५७ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ करोड ६३ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २ करोड ५४ लाख रुपैयाँ र द ओरिएन्टल इन्स्योरेन्सले ४ करोड ३६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन्।

सम्पत्ति बीमामा सबैभन्दा ठूलो दाबी

बीमालेखको प्रकारअनुसार सबैभन्दा बढी दाबी सम्पत्ति बीमामा परेको छ। यसअन्तर्गत ५७६ बीमितबाट ९ अर्ब ५६ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी परेकोमा हालसम्म १६ करोड २८ लाख रुपैयाँ भुक्तानी भएको छ।

त्यस्तै, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाअन्तर्गत १७४ बीमितबाट ४ अर्ब ४० करोड १७ लाख रुपैयाँ बराबरको दाबी परेको छ। यस शीर्षकमा १७ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

मोटर बीमातर्फ सबैभन्दा धेरै १ हजार ६७ वटा दाबी दर्ता भएका छन्। यस शीर्षकमा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ बराबरको दाबी परेकोमा २३ करोड ६६ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।

त्यस्तै, परिवहन बीमाअन्तर्गत २ अर्ब ३३ करोड ५५ लाख रुपैयाँ बराबरको दाबी परेकोमा २३ करोड ८९ लाख रुपैयाँ भुक्तानी भएको छ।

बाढीबाट भएको क्षतिको प्रारम्भिक दाबी रकम ठूलो भए पनि हालसम्मको भुक्तानी त्यसको तुलनामा न्यून देखिएको छ। बाँकी दाबीको मूल्यांकन तथा फर्छ्योट प्रक्रिया अघि बढेसँगै आगामी दिनमा भुक्तानी रकम थप बढ्न सक्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*