कम्पनीको कर, शुल्क र जरिबाना मिनाहाको म्याद पुस मसान्तसम्म थप

१३ कार्तिक २०८३, शुक्रबार १०:०४

काठमाडौं । कम्पनी ऐन, २०६३ अनुसार दर्ता भएका कम्पनीले तिर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा पाउने सुविधाको म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ। यसअघि उक्त सुविधा लिन २०८३ असोज मसान्तसम्मको समय दिइएको थियो।

अर्थ मन्त्रालयको २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार म्याद थप गरिएको हो। अब तोकिएको अवधिभित्र आवश्यक विवरण र आर्थिक वर्ष २०८२/८३ का लागि कानूनबमोजिम लाग्ने कर, शुल्क तथा दस्तुर बुझाउने कम्पनीले यसअघिको बाँकी बक्यौता र जरिबानामा छुट पाउनेछन्।

कानूनले तोकेको समयभित्र विवरण पेश नगरेका, कम्पनी नवीकरण नगरेका वा बुझाउनुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना दाखिला नगरेका कम्पनीले यो सुविधा लिन सक्नेछन्। यस्तो सुविधा कारोबार निरन्तरता दिन चाहने वा कम्पनीको दर्ता खारेज गर्न चाहने दुवै प्रकारका कम्पनीका लागि लागू हुने अर्थ मन्त्रालयले जनाएको छ।

तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गरेमा त्यसअघि लागेका वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा हुने व्यवस्था पनि गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*