चक्रवात अर्नबको कारण कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात अर्नबको प्रभावले हिमाली क्षेत्रमा मौसम प्रतिकूल बनेपछि कञ्चनजङ्घा भ्रमणमा रहेका करिब २५० आन्तरिक तथा विदेशी पर्यटक बीचबाटोमै रोकिएका छन्। उच्च क्षेत्रमा हिमपात र तल्लो भेगमा वर्षासँगै चिसो बढेपछि बेसक्याम्पतर्फ जाँदै गरेका र फर्किंदै गरेका पर्यटकले यात्रा अघि बढाउन सकेका छैनन्।
कञ्चनजङ्घाको उत्तरी आधार शिविर जाने पदमार्गका इटालीटार, लामाटार, अम्जिलेसा, थाङ्गीम, ग्याब्ला, फले, घुन्सा, खम्बाचेन र लोनाकलगायतका बस्तीमा पर्यटक रोकिएका छन्। दक्षिणी आधार शिविरतर्फका याम्फुदिन, नयाँ झोरेनी, तोरोङ्देन, सेराम र राम्जेलगायतका स्थानका होटलमा पनि पर्यटकको चाप बढेको छ।
यसैगरी लुम्बासुम्बा हुँदै मकालु आधार शिविर जाने विदेशी पर्यटकको टोली ओलाङचुङगोलामै रोकिएको छ। फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङगोलामा रहेको ऐतिहासिक दिकीछ्योर्लिङ गुम्बालगायत क्षेत्रको अध्ययन तथा अनुसन्धानका लागि पुगेको स्वदेशी तथा विदेशी गरी करिब ६० जना पर्यटक छन्। उनीहरू स्थानीय होटलमा बसेका छन्। तीमध्ये आधाजसो लुम्बासुम्बा हुँदै मकालु आधार शिविर जाने तयारीमा थिए भने केही आन्तरिक पर्यटक ओलाङचुङगोला हुँदै सिङ्जेसम्म पुग्ने योजनामा थिए।
मौसम प्रतिकूल भएपछि सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी र स्थानीय वडा कार्यालयले मौसममा सुधार नआएसम्म सुरक्षित स्थानमै बस्न सूचना जारी गरेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण जिल्लामा हालसम्म कुनै विपद्जन्य घटना भएको छैन। कञ्चनजङ्घा क्षेत्रमा रहेका करिब २५० पर्यटक विभिन्न बस्ती तथा होटलमा सुरक्षित रूपमा बसेका छन्। ओलाङचुङगोला, घुन्सा र याम्फुदिन क्षेत्रमा पर्यटकको चाप बढी रहेको छ।











