प्रभु बैंकको वित्तीय अवस्थामा धक्काः खराब कर्जामा डरलाग्दो उछाल, अधिकांश सूचक ओरालो

१५ कार्तिक २०८३, आईतवार ०७:१६

काठमाडौं । प्रभु बैंक लिमिटेडको वित्तीय अवस्था दबाबमा देखिएको छ । चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा ह्वात्तै बढेको छ भने मुख्य आम्दानीका सूचकसमेत कमजोर बनेका छन् । बैंकले नाफा बढाएको देखिए पनि ब्याज आम्दानी, सञ्चालन आम्दानी र कर्जा गुणस्तरमा देखिएको गिरावटले वित्तीय अवस्थामाथि प्रश्न उठाएको छ । बैंकको खराब कर्जाको अनुपात गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५।७८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १४।८० प्रतिशत पुगेको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ६० करोड ३७ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको नाफा करिब ८।१ प्रतिशतले मात्र बढेको हो । नाफामा सामान्य वृद्धि देखिए पनि बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी भने घटेको छ । गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ८९ करोड ५२ लाख ७६ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा घटेर २ अर्ब ३३ करोड ४७ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ । अर्थात् बैंकको खुद ब्याज आम्दानी करिब १९।३ प्रतिशतले घटेको छ ।

त्यस्तै, शुल्क तथा कमिसनबाट हुने खुद आम्दानीसमेत घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७० करोड ४७ लाख ५३ हजार रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षमा घटेर ६८ करोड ८४ लाख ९८ हजार रुपैयाँ कायम भएको छ । खुद ब्याज र शुल्क तथा कमिसन आम्दानीमा आएको गिरावटले बैंकको नियमित आम्दानी क्षमतामाथि दबाब परेको देखिन्छ ।

बैंकको कुल सञ्चालन आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब ८२ करोड ५१ लाख ४० हजार रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३ अर्ब ३७ करोड ६ लाख ६७ हजार रुपैयाँमा झरेको छ । त्यस्तै, कर्जा तथा अन्य सम्भावित नोक्सानी व्यवस्थाअघिको सञ्चालन आम्दानी पनि घटेर २ अर्ब ७८ करोड १९ लाख ७४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ८२ करोड १३ लाख ५९ हजार रुपैयाँ थियो ।

सञ्चालन नाफामा समेत गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १७ करोड २० लाख ८५ हजार रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर १ अर्ब १५ करोड ४५ लाख २७ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, करअघिको नाफा पनि १ अर्ब १७ करोड २३ लाख ४५ हजार रुपैयाँबाट घटेर १ अर्ब १५ करोड ७९ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ ।

बैंकको कोष लागत भने ३.८६ प्रतिशतबाट घटेर ३.१९ प्रतिशतमा आएको छ । आधार दर पनि ५.६८ प्रतिशतबाट घटेर ४.९५ प्रतिशत कायम भएको छ । त्यस्तै, कर्जा तथा निक्षेप अनुपात ६९.४६ प्रतिशतबाट घटेर ६५.०७ प्रतिशत पुगेको छ । तर, पुँजी पर्याप्तता अनुपात १३.६० प्रतिशतबाट घटेर ११.८३ प्रतिशतमा झरेको छ ।

यता, असोज मसान्तसम्म बैंकले ग्राहकबाट ३ खर्ब ५० अर्ब १० करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ११ अर्ब १३ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कुल सम्पत्ति ४ खर्ब १७ अर्ब २६ करोड १४ लाख रुपैयाँ पुगेको छ । चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ६ लाख ९७ हजार रुपैयाँ सञ्चित रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*