प्राइम कमर्सियल बैंकको नाफामा गिरावट, खराब कर्जा बढ्यो

१५ कार्तिक २०८३, आईतवार ०८:२९

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक (साउनदेखि असोज मसान्तसम्म) मा प्राइम कमर्सियल बैंक लिमिटेडको खुद नाफा ५.६२ प्रतिशतले घटेको छ।

असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकले १ अर्ब १८ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब २५ करोड ८४ लाख रुपैयाँ रहेको थियो। सञ्चालन नाफामा आएको कमी तथा इम्पेयरमेन्ट चार्जमा भएको वृद्धिका कारण बैंकको खुद नाफामा गिरावट आएको हो।

खुद नाफा घटे पनि बैंकको मुख्य आम्दानीको रूपमा रहेको खुद ब्याज आम्दानी भने ८.२४ प्रतिशतले बढेर २ अर्ब ६० करोड ५७ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यो आम्दानी २ अर्ब ४० करोड ७४ लाख रुपैयाँ रहेको थियो। त्यसैगरी बैंकको खुद शुल्क तथा कमिसन आम्दानी पनि १२.७९ प्रतिशतले बढेर ७९ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

मुख्य आम्दानीका सूचकमा सुधार आएसँगै बैंकको कुल सञ्चालन आम्दानी ४.६२ प्रतिशतले बढेर ३ अर्ब ६१ करोड रुपैयाँ कायम भएको छ। तर इम्पेयरमेन्ट चार्ज ४८ करोड ९ लाख रुपैयाँबाट बढेर ६१ करोड ७० लाख रुपैयाँ पुगेपछि बैंकको सञ्चालन नाफा ५.४८ प्रतिशतले घटेर १ अर्ब ९६ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २५.९४ रुपैयाँबाट घटेर २२.६७ रुपैयाँ कायम भएका छ भने खराब कर्जा व्यवस्थापनमा चुनौती थपिँदा बैंकको निष्क्रिय कर्जा अनुपात ५.८६ प्रतिशतबाट बढेर ७.१५ प्रतिशत पुगेको छ। बैंकसँग असोज मसान्तसम्ममा २ अर्ब ५ करोड १७ लाख रुपैयाँ वितरणयोग्य नाफा सञ्चित रहेको छ।

चुक्ता पूँजी २० अर्ब ९५ करोड रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा १४ अर्ब ९३ करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकले २ खर्ब ३५ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानी गरी २ खर्ब ७५ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। असोज मसान्तसम्म आइपुग्दा बैंकको सम्पत्तिको कुल मूल्य ३ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ नाघेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*