लक्ष्मी सनराइज बैंकको वित्तीय विवरणमा चमकः तीन महिनामै कमायो ६५ करोड, कस्ता छन् अन्य सूचक ?

बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ७१ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २ अर्ब ७६ करोड १७ लाख २० हजार रुपैयाँ पुगेको छ । त्यस्तै, शुल्क तथा कमिसनबाट हुने खुद आम्दानी ६४ करोड ४७ लाख ६५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी ६१ करोड ६८ लाख ३६ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३८८ करोड ८४ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी ३९१ करोड ६९ लाख ८१ हजार रुपैयाँ थियो । यद्यपि, सञ्चालन खर्च तथा कर्जा नोक्सानी व्यवस्थापनमा भएको सुधारले बैंकको सञ्चालन नाफामा उल्लेख्य वृद्धि भएको छ । गत वर्ष ४३ करोड ८१ लाख ७७ हजार रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ९३ करोड ३१ लाख ७५ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको करअघिको नाफा ९४ करोड ८० लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ४४ करोड ४४ लाख ८३ हजार रुपैयाँ रहेको थियो । कर तथा अन्य समायोजनपछि बैंकले ६५ करोड ३३ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यसले बैंकको नाफा वृद्धिमा सञ्चालन नाफाको सुधारले महत्वपूर्ण योगदान पुर्याएको देखाउँछ ।
यता, बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवै उल्लेख्य रहेको छ । असोज मसान्तसम्म बैंकले ग्राहकबाट ४ खर्ब ३९ अर्ब ५५ करोड ३९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकको निक्षेप ४ खर्ब २६ अर्ब ९१ करोड ३० लाख रुपैयाँ रहेको थियो । त्यस्तै, बैंकले ग्राहकलाई ३ खर्ब २१ अर्ब ८ करोड ६३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको कुल सम्पत्ति पनि बढेर ५ खर्ब ३८ अर्ब २८ करोड १७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो सम्पत्ति ५ खर्ब ११ अर्ब २८ करोड ७३ लाख रुपैयाँ रहेको थियो । बैंकको चुक्ता पुँजी २६ अर्ब ७८ करोड ११ लाख रुपैयाँ रहेको छ भने सञ्चित कोषमा १९ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ सञ्चित रहेको छ ।
बैंकको खराब कर्जाको अनुपातमा भने सामान्य वृद्धि देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५.४२ प्रतिशत रहेको खराब कर्जाको अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ५.५८ प्रतिशत पुगेको छ । तर, खुद खराब कर्जाको अनुपात भने १.५७ प्रतिशतबाट घटेर १.३३ प्रतिशत कायम भएको छ । त्यस्तै, कुल खराब कर्जाको तुलनामा कर्जा नोक्सानी व्यवस्थाको अनुपात ९७.३८ प्रतिशतबाट बढेर ९८.२३ प्रतिशत पुगेको छ ।
अन्य वित्तीय सूचकमा भने सुधार देखिएको छ । बैंकको कोष लागत ४.१७ प्रतिशतबाट घटेर ३.३० प्रतिशतमा झरेको छ भने आधार दर ५.९६ प्रतिशतबाट घटेर ४.९७ प्रतिशत कायम भएको छ । कर्जा तथा निक्षेप अनुपात ७७.०९ प्रतिशतबाट घटेर ७४.२८ प्रतिशतमा आएको छ । त्यस्तै, पुँजी पर्याप्तता अनुपात १२.४४ प्रतिशतबाट बढेर १२.८६ प्रतिशत पुगेको छ ।
यसैगरी, बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ४६ पैसाबाट बढेर ९ रुपैयाँ ७६ पैसा पुगेको छ । स्वपुँजीमा प्रतिफल २.९४ प्रतिशतबाट बढेर ५.५० प्रतिशत कायम भएको छ भने सम्पत्तिमा प्रतिफल ०.३० प्रतिशतबाट बढेर ०.५० प्रतिशत पुगेको छ ।











