एनआईसी एसिया बैंकको वित्तीय अवस्था खस्किँदैः खराब कर्जा १० प्रतिशतनजिक, नाफा १२ करोड ७४ लाख

१५ कार्तिक २०८३, आईतवार ०७:३५

काठमाडौं । एनआईसी एसिया बैंकको वित्तीय अवस्थामा दबाब देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको मुख्य आम्दानी खुम्चिएको छ भने खराब कर्जाको अनुपात दोहोरो अंकमा पुगेको छ । बैंकको एकल वित्तीय विवरणअनुसार खुद नाफा भने सामान्य वृद्धि भएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड २१ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १२ करोड ७४ लाख ४२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।  बैंकको नाफा करिब ४.३३ प्रतिशतले मात्र बढेको हो ।

बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी २ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको थियो । यसरी बैंकको खुद ब्याज आम्दानी एक वर्षको अवधिमा करिब ३९ करोड ६८ लाख रुपैयाँले घटेको छ ।

त्यस्तै, शुल्क तथा कमिसनबाट हुने खुद आम्दानीमा भने केही सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ करोड ९० लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३५ करोड ६ लाख रुपैयाँ पुगेको छ ।

बैंकको कुल सञ्चालन आम्दानीसमेत घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ७७ करोड ९० लाख रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी चालु आर्थिक वर्षमा घटेर २ अर्ब ४२ करोड ६८ लाख रुपैयाँमा झरेको छ ।

आम्दानी खुम्चिएपछि सञ्चालन नाफामा पनि दबाब परेको छ । गत वर्ष १९ करोड ३५ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेर १६ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ ।

यद्यपि, करअघिको नाफामा भने सामान्य सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ४५ लाख रुपैयाँ रहेको करअघिको नाफा चालु आर्थिक वर्षमा बढेर १८ करोड २० लाख रुपैयाँ पुगेको छ ।

बैंकको अर्को गम्भीर चुनौती खराब कर्जामा भएको वृद्धि हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६.९९ प्रतिशत रहेको खराब कर्जाको अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ९.८१ प्रतिशत पुगेको छ । अर्थात् एक वर्षमै खराब कर्जा २.८२ प्रतिशत विन्दुले बढेको हो । खराब कर्जा बढ्नुले बैंकले प्रवाह गरेको कर्जाको असुलीमा समस्या थपिएको र जोखिम व्यवस्थापनमा थप दबाब परेको संकेत गर्छ ।

समीक्षा अवधिसम्म बैंकले ग्राहकबाट ३ खर्ब ४१ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, १ खर्ब ९१ अर्ब २० करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कुल सम्पत्ति ३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको छ । चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २६ अर्ब २१ करोड ६७ लाख रुपैयाँ सञ्चित छ ।

अन्य वित्तीय सूचकमा पनि मिश्रित अवस्था देखिएको छ । बैंकको कोष लागत ४.६० प्रतिशतबाट घटेर ३.७८ प्रतिशतमा झरेको छ भने आधार दर ६.६० प्रतिशतबाट घटेर ५.५५ प्रतिशत कायम भएको छ । कर्जा तथा निक्षेप अनुपात ६६.०८ प्रतिशतबाट घटेर ६०.२२ प्रतिशतमा आएको छ । तर, पुँजी पर्याप्तता अनुपात भने १४.०३ प्रतिशतबाट घटेर ११.१२ प्रतिशतमा सीमित भएको छ । त्यस्तै, ब्याजदर अन्तर ३.९९ प्रतिशतबाट घटेर ३.३१ प्रतिशतमा झरेको छ । स्वपुँजीमा प्रतिफल १.६२ प्रतिशतबाट बढेर १.९४ प्रतिशत पुगेको छ भने सम्पत्तिमा प्रतिफल ०.१२ प्रतिशतबाट बढेर ०.१३ प्रतिशत कायम भएको छ ।

बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २१ पैसाबाट बढेर ३ रुपैयाँ ३५ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*