तीन महिनामा मुक्तिनाथ विकास बैंकको नाफा ३२ करोड, अधिकांश सूचकमा देखियो लोभलाग्दो सुधार

१५ कार्तिक २०८३, आईतवार ०६:४३

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य नाफा वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४३.४४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ३२ करोड २४ लाख २४ हजार रुपैयाँ नाफा कमाएको छ ।

बैंकको खुद ब्याज आम्दानीमा समेत सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १८ करोड ५५ लाख १० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १ अर्ब २१ करोड ७६ लाख ७ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, शुल्क तथा कमिसनबाट हुने खुद आम्दानी १९ करोड ९४ लाख ४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी १२ करोड ७० लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १४४ करोड ९३ लाख ८७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी १३७ करोड ८४ लाख ६९ हजार रुपैयाँ थियो । त्यस्तै, कर्जा तथा अन्य सम्भावित नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम समायोजनपछिको सञ्चालन आम्दानी १३१ करोड ३९ लाख ३३ हजार रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा पनि बढेर ७५ करोड ६३ लाख ३५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ३२ करोड ११ लाख ६ हजार रुपैयाँ थियो ।

यता, बैंकको कर्जा लगानी र निक्षेप संकलन दुवै उल्लेख्य रहेको छ । असोज मसान्तसम्म बैंकले ग्राहकहरूलाई १ खर्ब ५ करोड ४७ लाख ३२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै, ग्राहकबाट १ खर्ब २६ अर्ब २५ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा बैंकको निक्षेप १ खर्ब २३ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ रहेको थियो ।

बैंकको कुल सम्पत्ति पनि बढेर १ खर्ब ४२ अर्ब २० करोड ८५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा यस्तो सम्पत्ति १ खर्ब ४१ अर्ब ६ करोड २३ लाख रुपैयाँ रहेको थियो । बैंकको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४६ करोड ३८ लाख १२ हजार रुपैयाँ सञ्चित रहेको छ ।

यद्यपि, बैंकको खराब कर्जाको अनुपातमा भने केही वृद्धि देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १.३२ प्रतिशत रहेको खराब कर्जाको अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २.१९ प्रतिशत पुगेको छ । त्यस्तै, कुल खराब कर्जाको तुलनामा कर्जा नोक्सानी व्यवस्थाको अनुपात १०२.३८ प्रतिशतबाट घटेर ८३.६७ प्रतिशत कायम भएको छ ।

अन्य वित्तीय सूचकमा भने सुधार देखिएको छ । बैंकको कोष लागत ४.६६ प्रतिशतबाट घटेर ३.५५ प्रतिशतमा झरेको छ । आधार दर पनि ६.५९ प्रतिशतबाट घटेर ५.४६ प्रतिशत कायम भएको छ । कर्जा तथा निक्षेप अनुपात ८४.०५ प्रतिशत रहेको छ भने पुँजी पर्याप्तता अनुपात १२.८६ प्रतिशत कायम भएको छ ।

त्यसैगरी, बैंकको स्वपुँजीमा प्रतिफल ७.५६ प्रतिशतबाट बढेर ९.८४ प्रतिशत पुगेको छ । सम्पत्तिमा प्रतिफलसमेत ०.६७ प्रतिशतबाट बढेर ०.९० प्रतिशत कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*