नबिल बैंकको वित्तीय विवरणमा चमकः नाफा २ अर्ब ५५ करोड, अधिकांश सूचकमा लोभलाग्दो सुधार

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमासमा उत्साहजनक वित्तीय प्रगति गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा, खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा उल्लेख्य सुधार देखिएको हो ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ नाफा पुर्याएको हो । बैंकको खुद नाफा ४५।४ प्रतिशतले बढेको छ ।
बैंकको नाफा वृद्धिमा मुख्य भूमिका खुद ब्याज आम्दानीको रहेको देखिन्छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ३ अर्ब ९० करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४ अर्ब ७३ करोड ७० लाख रुपैयाँ पुगेको छ । ब्याज आम्दानीमा आएको यो उछालले बैंकको नियमित आम्दानीको आधार थप बलियो बनाएको देखिन्छ ।
त्यस्तै, शुल्क तथा कमिसनबाट हुने खुद आम्दानीमा पनि सुधार आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ७९ करोड ८७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षमा बढेर ९१ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
खुद ब्याज तथा शुल्क कमिसन आम्दानी दुवै बढेपछि बैंकको कुल सञ्चालन आम्दानी पनि उकालो लागेको छ । गत वर्ष ५ अर्ब २७ करोड ४१ लाख रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बढेर ६ अर्ब १३ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
आम्दानीसँगै बैंकको सञ्चालन नाफामा पनि उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३ अर्ब ६७ करोड १९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, करअघिको नाफा पनि २ अर्ब ४८ करोड २२ लाख रुपैयाँबाट बढेर ३ अर्ब ६७ करोड २४ लाख रुपैयाँ पुगेको छ ।
बैंकको कर्जा गुणस्तरमा पनि सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.३१ प्रतिशत रहेको खराब कर्जाको अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ४.०६ प्रतिशतमा झरेको छ ।
यता, बैंकले निक्षेप संकलन र कर्जा विस्तारलाई पनि निरन्तरता दिएको छ । असोज मसान्तसम्म बैंकले ग्राहकबाट ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको अन्त्यमा यस्तो निक्षेप ५ खर्ब ९२ अर्ब ८ करोड रुपैयाँ रहेको थियो । त्यस्तै, बैंकले ग्राहकलाई ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ रहेको कर्जा लगानी पनि बढेको छ ।
बैंकको कुल सम्पत्ति ७ खर्ब ७५ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो सम्पत्ति ७ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ थियो । बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३५ अर्ब ७७ करोड रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, सञ्चित मुनाफा २२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी वार्षिकीकृत रूपमा ३३ रुपैयाँ ८९ पैसा पुगेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ९० पैसा रहेको छ । नियामकीय समायोजनपछि बैंकको वितरणयोग्य नाफा १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ ।











