आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

१७ कार्तिक २०८३, मंगलवार १२:४४

काठमाडौं । सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।

उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ ।

स्वास्थ्य सेवा विभागका अनुसार भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने कार्यक्रम रहेको छ । अभिभावकहरुले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा समय मिलाएर लगेर ती औषधि खुवाउन विभागले आग्रह गरेको छ ।

विभागका अनुसार कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिँदैछन् । सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि विस २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र विस २०५६ देखि जुकाको औषधि नियमित खुवाउने गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*