काठमाडौंमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, स्वदेशी उत्पादनका लागि बिक्रीस्थल तोकियो

काठमाडौं । काठमाडौं महानगरपालिकाले तिहारका अवसरमा महानगर क्षेत्रभित्र प्लास्टिकबाट बनेका फूल, माला तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाएको छ। महानगरपालिकाले व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई प्लास्टिकजन्य सामग्रीको कारोबार नगर्न र स्वदेशी फूल तथा मालाको बिक्री वितरणलाई प्राथमिकता दिन आग्रह गरेको हो।
नेपाली किसानले उत्पादन गरेका फूल तथा मालाको प्रयोग र बिक्रीलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको जनाएको छ। तिहारमा फूल तथा मालाको माग बढ्ने भएकाले स्वदेशी उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले स्थानीय किसानका उत्पादन बिक्रीका लागि निश्चित स्थानसमेत तोकिएको छ।
प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री गरेको पाइएमा त्यस्ता सामग्री जफत गरिने महानगरले जनाएको छ। गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्रीको बिक्री वितरणमा पनि कारबाही गरिने महानगरले जनाएको छ।












