पाल्पा सिमेन्ट पहिलो त्रैमासमा १३ करोड ७६ लाख घाटामा, अन्य वित्तीय सूचक कस्ता?

२ मंसिर २०८३, बुधबार ०८:५८

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेड (तानसेन सिमेन्ट) चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ७६ लाख रुपैयाँभन्दा बढी खुद घाटामा गएको छ । कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार उत्पादन तथा सञ्चालन खर्च र वित्तीय खर्च बढ्दा कम्पनी घाटामा पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीले सिमेन्ट बेचेर ६१ करोड ९ लाख ७६ हजार रुपैयाँ आम्दानी गरेको छ । तर उत्पादन लागत नै ५९ करोड ४६ लाख १९ हजार रुपैयाँ पुगेपछि कम्पनीको कुल नाफा १ करोड ६३ लाख ५७ हजार रुपैयाँमा सीमित भएको छ ।

त्यसैगरी प्रशासनिक खर्च २ करोड २२ लाख रुपैयाँ र बिक्री तथा वितरण खर्च ३ करोड ५३ लाख रुपैयाँ पुगेको छ । यी खर्चका कारण कम्पनी ३ करोड ७१ लाख २९ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ । यसमा ६ करोड ९१ लाख ९० हजार रुपैयाँ वित्तीय खर्च थपिएपछि कम्पनी घाटामा पुगेको हो ।

घाटामा रहेसँगै कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ८७ पैसा ऋणात्मक हुन पुगेको छ । यद्यपि कम्पनीको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ४८ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य २७७ रुपैयाँ ६७ पैसा रहेको छ । कम्पनीको तरलता अनुपात ३.५७ कायम भएको छ ।

असोज मसान्तसम्म कम्पनीको कुल सम्पत्ति १० अर्ब ४१ करोड २५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ र कुल इक्विटी ४ अर्ब ७० करोड ५६ लाख रुपैयाँ रहेको छ । त्यस्तै दीर्घकालीन ऋण ४ अर्ब ८० करोड ५३ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीले अन्तर्राष्ट्रिय तनाव तथा युद्धका कारण इन्धन र कच्चा पदार्थको मूल्य बढेको, मुलुकभित्रको बाढीपहिरोले ढुवानी खर्चमा वृद्धि भएको तथा आयातित सामग्री महंगिएको कारणले उत्पादन र सञ्चालन लागत वृद्धि हुँदा घाटा व्यहोर्नुपरेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*