चालु खाता २ खर्ब ७९ अर्बले बचतमा, शोधनान्तर बचत ३ खर्ब नाघ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा चालु खाता २ खर्ब ७९ अर्ब ११ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ३८ अर्बले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६९ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८२ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब ३१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ५५ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ४ अर्ब १४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटीमात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.१ अर्ब ७४ करोड रहेको थियो ।
यता, शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ९८ करोडले बचतमा रहेको छ ।











