‘एक्सट्रिम’ इनर्जी ड्रिङ्क स्वास्थ्यका लागि जोखिमपूर्ण, एउटै क्यानमा १८९ मिलिग्राम क्याफिन

काठमाडौँ । नेपाली बजारमा बिक्री वितरण भइरहेको ‘एक्सट्रिम इनर्जी ड्रिङ्क’ मा अत्याधिक क्याफिन रहेको पाइएको छ । थाई एग्रो फुडले बजारमा बिक्री गर्दै आइरहेको इनर्जी ड्रिङ्कमा सामान्यतया उपभोगका लागि सुरक्षित मानिने मात्राभन्दा निकै बढी क्याफिन रहेको पाइएको हो ।
नेपालमा सञ्चालनमा रहेका अन्य इनर्जी ड्रिङ्क उत्पादक कम्पनीहरूले प्रतिक्यान १०० मिलिग्राम मात्रै क्याफिन रहेको प्राविधिक विवरण तथा प्रयोगशाला परीक्षण प्रतिवेदन उपलब्ध गराउँदै आएका बेला ‘एक्सट्रिम’ मा भने त्यसको तुलनामा झन्डै दोब्बर क्याफिन भेटिएको छ ।
इनर्जी ड्रिङ्कमा क्याफिनको मात्रा कति हुनुपर्छ भन्ने विषयमा नेपाल सरकारले छुट्टै मापदण्ड निर्धारण गरेको छैन । यस्तो अवस्थामा युरोपियन फुड सेफ्टी अथोरिटी (ईएफएसए) र संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (युएसएफडीए) लगायत अन्तर्राष्ट्रिय संस्थाले निर्धारण गरेका वैज्ञानिक आधार र सुरक्षित उपभोगसम्बन्धी अभ्यासलाई आधार मानिँदै आएको छ । ती संस्थाका अनुसार एक स्वस्थ वयस्क व्यक्तिले चिया, कफी, चकलेट तथा इनर्जी ड्रिङ्कलगायत सबै स्रोतबाट एक दिनमा उपभोग गर्ने कुल क्याफिनको मात्रा ४०० मिलिग्रामभन्दा बढी हुनु हुँदैन । तर, सरकारी निर्णयको धज्जी उडाउँदै ‘एक्सट्रिम इनर्जी ड्रिङ्क’को एउटै क्यानमा १८९ मिलिग्रामभन्दा बढी क्याफिन रहेको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने यसअघि नै इनर्जी ड्रिङ्कको उत्पादन तथा बिक्री वितरणबारे विज्ञप्ति जारी गर्दै बजारमा रहेका उत्पादनको क्याफिन मात्रा सुरक्षित सीमाभित्र रहेको दाबी गरेको थियो । विभागले २०८३ कात्तिक ११ गते जारी गरेको सूचनामा नेपालमा १७ वटा उद्योगले सम्बन्धित सरकारी निकायबाट अनुमति लिएर इनर्जी ड्रिङ्क उत्पादन तथा बिक्री वितरण गरिरहेको उल्लेख गरेको छ ।

ती उद्योगका उत्पादनमा प्रतिक्यान १०० मिलिग्राम अर्थात् मानव उपभोगका लागि निर्धारण गरिएको सुरक्षित दैनिक मात्राको २५ प्रतिशतभन्दा कम क्याफिन प्रयोग भएको लेबल विवरण र प्रयोगशाला विश्लेषण प्रतिवेदनबाट देखिएको विभागको भनाइ छ । तर, विभागले उल्लेख गरेको प्रतिक्यान १०० मिलिग्रामको विवरण र ‘एक्सट्रिम’ मा पाइएको १८९ मिलिग्रामभन्दा बढी क्याफिनको तथ्यबीच ठूलो अन्तर देखिएको छ । यसले बजारमा बिक्री भइरहेका सबै इनर्जी ड्रिङ्कको वास्तविक क्याफिन मात्रा, परीक्षणको प्रभावकारिता र नियामकीय अनुगमनमाथि प्रश्न खडा गरेको छ ।
क्याफिन मानव शरीरलाई सक्रिय बनाउने उत्तेजक पदार्थ भए पनि यसको अत्यधिक सेवनले स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ । विशेषगरी बालबालिकाका लागि उच्च क्याफिनयुक्त पेय पदार्थ थप जोखिमपूर्ण मानिन्छन् । वयस्कको तुलनामा बालबालिकाको शारीरिक तौल कम हुने र उनीहरूको स्नायु प्रणाली पूर्ण रूपमा विकसित भइनसकेको हुँदा क्याफिनले छिटो तथा तीव्र असर गर्न सक्छ । यसको सेवनले बालबालिकामा अत्यधिक बेचैनी, चञ्चलपन, चिडचिडापन तथा अनिद्राजस्ता समस्या निम्त्याउन सक्छ । त्यस्तै, क्याफिनको उच्च मात्राले मुटुको धड्कन असामान्य रूपमा बढाउने, रक्तचापमा उतारचढाव ल्याउने र मुटुसम्बन्धी जोखिम बढाउने चिकित्सकीय अध्ययनहरूले देखाएका छन् ।











