घोराही सिमेन्टको साधारण सभा मंसिर २७ गते, शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव

६ मंसिर २०८३, आईतवार ०८:४९

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारण सभा आगामी मंसिर २७ गते आइतबार आयोजना गर्ने भएको छ। कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको ७१औँ बैठकले बिहान ९ बजे दाङको घोराही उपमहानगरपालिका–१४, भरतपुरस्थित होटल पौवामा सभा गर्ने निर्णय गरेको हो।

सभामा गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा नाफा–नोक्सान र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। साथै सञ्चालकसँग सम्बन्धित संस्थासँग कम्पनीले गरेको कारोबार अनुमोदन गर्ने, चालू आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

सभाको विशेष प्रस्तावअन्तर्गत कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण अनुमोदन गर्ने विषय समेटिएको छ। त्यस्तै कम्पनीको रजिस्टर्ड कार्यालय काठमाडौं महानगरपालिका–११, ट्रेड टावरबाट काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित त्रिवेणी कम्प्लेक्समा स्थानान्तरण गर्ने प्रस्ताव पनि रहेको छ। यसका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव सभामा पेस हुनेछ।

कम्पनीले आफ्नो प्रबन्धपत्रमा रहेका उद्देश्यहरू संशोधन तथा थप गर्ने र दफा ५ मा समेत परिवर्तन गर्ने प्रस्ताव अघि सारेको छ। यसका साथै कम्पनीको हालको शेयर संरचनालाई परिवर्तन गरी साधारण शेयरमा मात्र सीमित गर्ने प्रस्ताव गरिएको छ। उक्त परिवर्तनअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गरी सञ्चालक समितिको गठनसम्बन्धी व्यवस्था पनि परिमार्जन गर्ने प्रस्ताव रहेको छ।

सभामा सञ्चालक समितिबाट हालसम्म भएका निर्णय तथा कामकारबाही अनुमोदन गर्ने र नियामक निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा थप संशोधन गर्न निर्देशन आएमा त्यसलाई कार्यान्वयन गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्तावसमेत पेस गरिनेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १८ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ। त्यसअनुसार मंसिर १७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार भई नामसारी प्रक्रियासमेत पूरा भएका शेयरधनीले मात्र सभामा सहभागी हुन पाउनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*