घाटाबाट नाफामा फर्कियो श्रृजनशील लघुवित्त, कमायो दुई करोड पाँच लाख

काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा दुई करोड पाँच लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा १९ करोड ३४ लाख ५२ हजार रुपैयाँ घाटामा रहेको संस्था यस वर्ष नाफामा फर्किएको हो।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी तीन करोड ९३ लाख ३५ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ करोड २१ लाख २४ हजार रुपैयाँ रहेको थियो। त्यस्तै, शुल्क तथा कमिसनबाट प्राप्त खुद आम्दानी ६६ लाख २० हजार रुपैयाँ रहेको छ।
समीक्षा अवधिमा संस्थाको कुल सञ्चालन आम्दानी चार करोड ६६ लाख २६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा दुई करोड ९३ लाख ५७ हजार रुपैयाँ रहेको छ। संस्थाको कर्मचारी खर्च दुई करोड ७६ लाख १४ हजार र अन्य सञ्चालन खर्च ७५ लाख ७५ हजार रुपैयाँ रहेको छ। सम्भावित कर्जा नोक्सानीका लागि एक करोड ८३ लाख ९ हजार रुपैयाँ व्यवस्था गरिएको वित्तीय विवरणमा उल्लेख छ।
संस्थाको कुल सम्पत्ति तीन अर्ब तीन करोड १८ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा तीन अर्ब १० करोड ९४ लाख रुपैयाँ रहेको कुल सम्पत्ति समीक्षा अवधिमा केही घटेको हो। संस्थाले ग्राहकलाई दुई अर्ब ७४ करोड ५८ लाख रुपैयाँ कर्जा तथा सापटी प्रवाह गरेको छ भने ग्राहकबाट ९५ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ र जगेडा तथा सञ्चित कोष १० करोड ८१ लाख ३७ हजार रुपैयाँ रहेको छ।
नाफामा फर्किए पनि संस्थाको निष्क्रिय कर्जा अनुपात भने बढेको देखिएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११.९३ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १२.९८ प्रतिशत पुगेको छ।











