नेपालकै पहिलो केबलकार मनकामना २९औँ वर्षमा, यात्रु संख्या २ करोड १२ लाख नाघ्यो

७ मंसिर २०८३, सोमबार ११:०९

काठमाडौँ । नेपालको पहिलो केबलकारका रूपमा परिचित मनकामना केबलकारले सफल सञ्चालनको २८औँ वर्ष पूरा गरी २९औँ वर्षमा प्रवेश गरेको छ । चितवन को–इ समूह (Chitawon Co-E Group) अन्तर्गत मनकामना दर्शन प्रा.लि.द्वारा सञ्चालित केबलकारले मंसिर ८ गतेदेखि आफ्नो सञ्चालनको २९औँ वर्ष सुरु गरेको हो । कम्पनीका अनुसार हालसम्म केबलकारमार्फत २ करोड १२ लाखभन्दा बढी यात्रुले सेवा लिइसकेका छन् ।

समूहका स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र नेतृत्वमा स्थापना भएको मनकामना केबलकारले नेपालको पर्यटन तथा पूर्वाधार विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । नेपालको केबलकार सेवाको इतिहासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको यस आयोजनाले धार्मिक पर्यटन प्रवर्द्धनसँगै मनकामना क्षेत्रको पर्यटन विकासमा समेत योगदान पुर्‍याउँदै आएको छ । २८ वर्षको सफल यात्राका अवसरमा कम्पनीले स्वर्गीय संस्थापक श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको दूरदृष्टि, परिकल्पना र मार्गनिर्देशनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस उपलब्धिका लागि कम्पनीले यात्रु तथा ग्राहकवर्गप्रति विशेष आभार व्यक्त गरेको छ । निरन्तर माया, विश्वास र साथ–सहयोग प्रदान गर्ने ग्राहकसँगै कम्पनीलाई यो उचाइसम्म पुर्‍याउन अहोरात्र खटिने कर्मचारीहरूको निष्ठा, मेहनत र समर्पणको उच्च प्रशंसा गरेको छ । त्यस्तै, पर्यटन तथा आतिथ्य सत्कार क्षेत्रका साझेदारहरूले पुर्‍याएको सहयोग र सहकार्यप्रति पनि कम्पनीले धन्यवाद ज्ञापन गरेको छ ।

कम्पनीले मनकामना केबलकारको सञ्चालन र विकासमा निरन्तर सहयोग पुर्‍याउने सहिद लखन गाउँपालिका र इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालय तथा सम्पूर्ण शुभेच्छुकप्रति कृतज्ञता व्यक्त गरेको छ । आगामी दिनमा पनि यात्रुहरूलाई अझ उत्कृष्ट सेवा, सुरक्षित यात्रा र स्तरीय अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाउँदै कम्पनीले आगामी वर्षहरूमा आफ्नो सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने विश्वास व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*