बीमा अभिकर्ता पेसा सामाजिक सेवासँगै आम्दानी र अन्तर्राष्ट्रिय पहिचानको अवसर पनि होः रुपक पराजुली

७ मंसिर २०८३, सोमबार ११:५५

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कलंकी शाखा कार्यालयमा कार्यरत एजेन्सी म्यानेजर तथा बीमा अभिकर्ता रुपक पराजुली बीमा क्षेत्रमा विगत एक दशकदेखि कार्यरत छन्। बीमा पेशालाई आफ्नो प्रोफेसन बनाएर अघि बढिरहेको रुपक आम नागरिकको दघरदैलोमै पुगेर बीमाको सचेतना फैलाउँदै नागरिकको जोखिम रक्षावरण गर्न तल्लीन छन्।

बीमा क्षेत्रलाई नजिकबाट बुझेका रुपकले बीमा पेशा सामाजिक सेवाको पेशा भएको बताउँछन्। बीमा पेशामा आफ्नो आम्दानी आफैं निर्धारण गर्न सक्ने र अन्तर्राष्ट्रिय पहिचानको अवसर पनि पाइने भएकाले उनको नजरमा अन्य पेशाभन्दा बीमा पेशा सन्तोषजनक छ। एक दशका अवधिमा बीमा क्षेत्रमा उनले देखे, भोगेको अनुभवको विषयमा बीमापोष्टले गरेको कुराकानीको सम्पादित अंशः

बीमा अभिकर्ता पेसालाई कसरी बुझ्नुहुन्छ?

बीमा अभिकर्ता भनेको बिमा गर्ने व्यक्ति र बीमा कम्पनीबीच पुलको रूपमा काम गर्ने व्यक्ति हो। अभिकर्ताले बीमा गर्न चाहने व्यक्तिलाई आवश्यक जानकारी दिएर बीमा प्रक्रियालाई कम्पनीसम्म पुर्‍याउने काम गर्छन्। अन्तर्राष्ट्रिय अभ्यासमा यो पेसालाई निकै व्यावसायिक र सम्मानित रूपमा हेरिन्छ। अमेरिका र अस्ट्रेलियाजस्ता देशमा बीमा अभिकर्ताहरू आर्थिक रूपमा पनि सफल छन्। तर नेपालमा भने यस पेसालाई हेर्ने दृष्टिकोण अझै फरक छ। कतिपयले अभिकर्ताले आफ्नो कमिसनका लागि मात्रै बीमा गराउँछन् भन्ने सोच राख्छन्। तर बीमाबाट सबैभन्दा बढी फाइदा बीमा गर्ने व्यक्तिलाई नै हुन्छ। अन्य पेसामा जस्तै यसमा पनि काम गरेबापत अभिकर्ताले आम्दानी पाउँछन्, तर यसको मुख्य उद्देश्य बीमितलाई आर्थिक सुरक्षा प्रदान गर्नु हो।

अभिकर्ता बनेको कति वर्ष भयो? सुरुवात र अहिलेको अनुभव कस्तो छ?

बीमा अभिकर्ताका रूपमा काम गर्न थालेको नौ वर्ष पूरा भएर अहिले दसौँ वर्ष लागेको छ। सुरुवाती समयको उत्साह र अहिलेको उत्साह मेरो हकमा लगभग उस्तै छ। सुरुमा नै दैनिक तीनदेखि पाँच जनासम्मको बीमा गराउन सफल भएको थिएँ। अहिले पनि त्यो क्रम निरन्तर छ। बीमा पोलिसीको सङ्ख्याका आधारमा पनि म अगाडि नै छु र आफ्नै व्यक्तिगत अभिकर्ता कोडअन्तर्गत रहेर काम गरिरहेको छु। त्यसैले मेरो व्यक्तिगत अनुभवमा सुरुवाती समय र अहिलेको अवस्थामा खासै भिन्नता छैन।

पहिले र अहिलेका ग्राहकमा बीमासम्बन्धी चेतना कस्तो पाउनुभएको छ?

ग्राहकहरूको बुझाइमा निकै परिवर्तन आएको छ। पहिले बीमा गरेपछि अवधि पूरा हुँदा पैसा आउँछ कि आउँदैन भन्ने विषयमै धेरै मानिस अन्योलमा हुन्थे। अहिले भने बीमाको अवधि पूरा भएपछि रकम प्राप्त हुन्छ र अप्ठ्यारो परिस्थितिमा आर्थिक जोखिमबाट सुरक्षा मिल्छ भन्ने बुझाइ बढ्दै गएको छ। कतिपय ग्राहकले त मेरो माध्यमबाट दोस्रो पटक पनि बीमा गर्न थाल्नुभएको छ। नयाँ ग्राहकहरू पनि बीमा गर्न इच्छुक देखिनुहुन्छ। कति रकमको बीमा गर्ने र कुन योजना उपयुक्त हुन्छ भन्ने विषयमा समेत चासो राख्न थाल्नुभएको छ। यो बीमा क्षेत्रका लागि निकै सकारात्मक परिवर्तन हो।

बीमा प्रवद्र्धनमा सरकारको भूमिका कस्तो छ?

सरकारले प्रत्यक्ष रूपमा जीवन बीमाको प्रवद्र्धनका लागि धेरै काम गरेको देखिँदैन। यद्यपि अप्रत्यक्ष रूपमा नीतिगत सुधारमार्फत बीमितको हितमा केही काम भएका छन्। विशेषगरी कर छुटको व्यवस्थामा सुधार गरिएको छ। पहिले २५ हजार रुपैयाँसम्म रहेको कर छुटको सीमा बढाएर ४० हजार रुपैयाँ पुर्‍याइएको छ। तर हाम्रो माग भने बीमितले जति रकमको बीमा गर्छ र कम्पनीलाई जति बीमाशुल्क बुझाउँछ त्यही बराबरको रकममा कर छुट पाउनुपर्छ भन्ने हो। त्यसैले केही सुधार भए पनि अझै गर्नुपर्ने काम बाँकी छन्।

बीमा समर्पण बढ्नुको मुख्य कारण के हो?

मेरो अनुभवमा बीमा समर्पण हुनुमा अभिकर्ता र बीमित दुवै पक्षको कमजोरी हुन्छ। कतिपय अवस्थामा अभिकर्ताले आवश्यक सबै कुरा स्पष्ट नगरी बीमा गराउने गरेका हुन्छन्। यस्तो अवस्थामा अभिकर्ताको जिम्मेवारी बढी हुन्छ। तर बीमितको तर्फबाट पनि लापरबाही हुने गरेको पाइन्छ। उदाहरणका लागि बीमा गर्ने निर्णय गरेर आवश्यक कागजात पठाइसकेपछि पनि कतिपयले फोनमा आएको बीमा जारी भएको सन्देश नहेर्ने वा घरमै बीमासम्बन्धी कागजात आइपुग्दा पनि बीमा भएको छैन होला भन्ने ठान्ने गरेका छन्। बीमा भनेको १०–१५ वर्षसम्मको योजना बनाएर गरिने काम हो। यसले भविष्यमा रकम जम्मा हुनुका साथै जोखिमबाट आर्थिक सुरक्षा पनि प्रदान गर्छ। त्यसैले बीमितले पनि योजना राम्ररी बुझ्नुपर्छ र अभिकर्ताले पनि सबै कुरा स्पष्ट पार्नुपर्छ। बुझ्नै नचाहने र पछि सम्झौता तोड्ने प्रवृत्तिले अभिकर्ता, कम्पनी र बीमित तीनै पक्षलाई हानि पुर्‍याउँछ।

बीमा दाबी भुक्तानीमा देखिने समस्याको कारण के हो?

बीमा कम्पनीले आफ्ना बीमितलाई दुःख दिने उद्देश्यले निर्णय गर्छ भन्ने मलाई लाग्दैन। धेरैजसो अवस्थामा आवश्यक कागजात पूरा नगरी कार्यालय पुग्ने र पछि थप कागजात माग्दा असन्तुष्टि व्यक्त गर्ने प्रवृत्ति देखिन्छ। दाबी भुक्तानीका लागि कार्यालय जाँदा सुरुमा नै कुन–कुन कागजात आवश्यक पर्छन् भन्ने जानकारी लिएर ती सबै कागजात पूरा गरी जानुपर्छ। नेपालमा दुर्गम क्षेत्रबाट समेत दाबी भुक्तानीका लागि कार्यालयसम्म आउनुपर्ने अवस्था छ। त्यस्ता ठाउँका मानिसलाई पटक–पटक धाउनुपर्दा व्यावहारिक कठिनाइ हुन्छ। त्यसैले पहिलो पटक कार्यालय पुग्दा नै आवश्यक कागजातको पूर्ण सूची लिएर सबै कागजात तयार भएपछि मात्रै प्रक्रिया अघि बढाउनु उपयुक्त हुन्छ।

अहिले कुन उमेर समूहका मानिस बीमाप्रति बढी आकर्षित छन्?

अहिले बीमा बजारमा विभिन्न प्रकारका योजना उपलब्ध छन्। बालबालिकाको भविष्य सुनिश्चित गर्ने योजनादेखि लिएर बाल अमृत र रकम फिर्ता हुने योजनासम्म विभिन्न कम्पनीले १५–१७ प्रकारका योजना ल्याएका छन्। यति धेरै विकल्प उपलब्ध भएपछि अहिले कुनै एउटा निश्चित उमेर समूह मात्रै बीमामा सक्रिय छ भन्न सकिँदैन। सबै उमेर समूहका मानिसले बीमा गर्न थालेका छन्। यो समग्र बीमा उद्योगका लागि सकारात्मक पक्ष हो।

तपाईंका लागि यो पेसा जागिर हो कि सामाजिक सेवा?

मैले यसलाई पूर्ण रूपमा सामाजिक कामका रूपमा लिएको छु। मेरो शैक्षिक पृष्ठभूमि पनि बीएसडब्लू ब्याचलर इन सोसियल वर्कमा स्नातक भएकोले यो पेसा मेरो अध्ययनसँग समेत मेल खान्छ। बीमा भनेको छरिएर खर्च हुन सक्ने पैसालाई एक ठाउँमा जम्मा गर्ने र भविष्यमा एकमुष्ट रकम प्राप्त गर्ने माध्यम हो। यसले बचत गर्ने बानीको विकास गर्नुका साथै जोखिमबाट आर्थिक सुरक्षा पनि प्रदान गर्छ। उदाहरणका लागि कुनै परिवारमा एक जनाले मात्रै आम्दानी गरिरहनुभएको छ र परिवार तथा बालबालिकाको सम्पूर्ण जिम्मेवारी उहाँकै काँधमा छ भने उहाँलाई केही भइहाले परिवारको अवस्था के हुन्छ भन्ने कुरा सोच्नुपर्छ। यस्तो जोखिमलाई ध्यानमा राखेर बीमाको महत्त्व बुझाउनु सामाजिक काम नै हो। नेपाली समाजमा धेरैजसो मानिसले कुनै कामको महत्त्व नबुझेसम्म त्यसतर्फ चासो नदिने प्रवृत्ति छ। त्यसैले अभिकर्ताले आफैँ बीमाको महत्त्व बुझेर अरूलाई पनि बुझाउँदै काम गरिरहेका छन्। मेरो विचारमा यो महत्त्वपूर्ण सामाजिक योगदान हो।

न्यून, मध्यम र उच्च आय भएका व्यक्तिका लागि कस्तो बीमा योजना उपयुक्त हुन्छ?

बीमा अभिकर्ताले सबैभन्दा पहिले बीमा गर्न चाहने व्यक्तिको पेसा, उमेर, आर्थिक अवस्था, चाहना र भविष्यको योजनाबारे बुझ्नुपर्छ। अहिले उहाँले के काम गरिरहनुभएको छ र भविष्यमा के गर्न चाहनुहुन्छ भन्ने कुरा पनि जान्नुपर्छ। त्यसपछि मात्रै कुन बीमा योजना उपयुक्त हुन्छ भन्ने निर्णय गर्नुपर्छ। अहिले कतिपय अभिकर्ताले व्यक्तिगत फाइदाका लागि आफूलाई बढी लाभ हुने योजना बिक्री गर्ने गरेको पाइन्छ। यो गलत अभ्यास हो। ग्राहकको आवश्यकता र आर्थिक क्षमताअनुसार योजना छनोट गर्न सकियो भने बीमा समर्पण गर्ने घटना पनि कम हुन्छ।

बीमा धनीका लागि आवश्यक हो कि गरिबका लागि पनि उत्तिकै आवश्यक छ?

बीमा दुवै वर्गका लागि आवश्यक छ। आर्थिक रूपमा कमजोर वर्गका मानिसले पनि आफ्नो आम्दानीबाट थोरै रकम बचत गरेर भविष्यका लागि आर्थिक सुरक्षा सुनिश्चित गर्न सक्छन्। उदाहरणका लागि कसैले आफ्नो सानो–सानो खर्च कटौती गरेर मासिक एकदेखि दुई हजार वा दुईदेखि तीन हजार रुपैयाँ बचत गर्न सक्छ भने त्यही रकम बीमामा लगाउन सकिन्छ। लामो समयसम्म जम्मा भएको रकमले भविष्यमा छोराछोरीको उच्च शिक्षालगायत महत्त्वपूर्ण आवश्यकता पूरा गर्न सहयोग पुर्‍याउँछ। त्यस्तै सम्पन्न वर्गका मानिसलाई पनि बीमा आवश्यक छ। उनीहरूसँग अहिले पर्याप्त पैसा, घरजग्गा र व्यवसाय हुन सक्छ। तर भविष्यमा व्यवसायको पुँजी झिकेर कुनै ठूलो काम गर्नुपर्दा व्यवसायमा असर पर्न सक्छ। त्यसैले अहिले नै थोरै–थोरै रकम बीमामा जम्मा गरेर भविष्यमा एकमुष्ट रकम प्राप्त गर्ने योजना बनाउन सकिन्छ। उदाहरणका लागि छोरीको विवाहमा कार उपहार दिन, गाउँमा मन्दिर निर्माण गर्न वा सामाजिक सेवामा योगदान गर्न बीमाबाट प्राप्त रकम प्रयोग गर्न सकिन्छ। त्यसैले न्यून आय भएका व्यक्तिदेखि सम्पन्न वर्गसम्म सबैलाई बीमाको आवश्यकता छ।

बीमा अभिकर्ता पेसामा नयाँ पुस्ताका लागि कस्तो सम्भावना छ?

हाम्रो नेपाली समाजको एउटा विडम्बना के छ भने विदेशमा प्रचलनमा रहेका पेसालाई हामी सहजै राम्रो मान्छौँ तर नेपालमै त्यही काम गरिरहेको व्यक्तिलाई फरक दृष्टिले हेर्छौँ। बीमा अभिकर्ता पेसालाई कतिपयले अरूको घरमा गएर अनुरोध गर्नुपर्ने कामका रूपमा बुझ्ने गरेका छन्। तर यो अरूलाई सेवा गर्ने माध्यम मात्रै होइन, आम्दानी गर्न सकिने व्यावसायिक क्षेत्र पनि हो। यो व्यवस्थित प्रणालीभित्र रहेर गरिने काम हो र यसले अन्तर्राष्ट्रिय पहिचानसमेत बनाइसकेको छ। उदाहरणका लागि मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) जस्तो अन्तर्राष्ट्रिय संस्थामा नेपाली अभिकर्ताहरूको पनि पहिचान स्थापित भएको छ। यसमा आम्दानी गर्न सकिन्छ, सामाजिक सेवा गर्न सकिन्छ र अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सकिन्छ। यो स्वतन्त्र रूपमा काम गर्न सकिने पेसा पनि हो। आफूले कति मेहनत गर्ने र कति आम्दानी गर्ने भन्ने कुरा धेरै हदसम्म आफैँले निर्धारण गर्न सकिन्छ। त्यसैले यसलाई सानो वा कम महत्त्वको पेसा नठानी नयाँ व्यक्तिहरू पनि यसमा जोडिन म आग्रह गर्न चाहन्छु।

आगामी दिनमा बीमा अभिकर्ता पेसाको भविष्य कस्तो देख्नुहुन्छ?

नेपालको सन्दर्भमा हेर्दा बीमा अभिकर्ता पेसाको भविष्य उज्ज्वल छ। हामी विकासोन्मुख देश भएकाले हरेक क्षेत्र विकासको चरणमा छ। नयाँ प्रणालीहरू विकास भइरहेका छन्, मानिसहरू शिक्षित तथा सचेत हुँदै गएका छन्। नेपालमा अझै धेरै मानिस बीमाको पहुँचबाहिर छन्। त्यसैले आगामी दिनमा बीमा गर्ने मानिसको सङ्ख्या घट्ने होइन थपिँदै जाने सम्भावना छ। जापान वा अस्ट्रेलियाजस्ता विकसित देशमा धेरैजसो मानिसले बीमा गरिसकेका छन्। त्यहाँ नयाँ ग्राहक खोज्न तुलनात्मक रूपमा चुनौती हुन सक्छ। तर नेपालमा अझै धेरै मानिसलाई बीमाको महत्त्व बुझाउन बाँकी छ। त्यसैले यो पेसामा अझै राम्रो सम्भावना छ।

बीमा व्यवसायका लागि सामाजिक सञ्जाल कत्तिको प्रभावकारी छ?

अहिले सामाजिक सञ्जालमार्फत धेरै अभिकर्ताले राम्रो व्यवसाय गरिरहनुभएको छ। यसबाट धेरै मानिसलाई बीमाको पहुँचमा ल्याउन पनि सहयोग पुगेको छ। तर म भने यो माध्यमको प्रयोगमा केही पछाडि छु। सामाजिक सञ्जालमा भिडियो बनाएर बीमाको महत्त्व बुझाउँदै अहिलेसम्म एक जना पनि ग्राहक ल्याएको छैन तर अब म पनि त्यसतर्फ लाग्नुपर्छ भन्ने महसुस भएको छ। सामाजिक सञ्जाल यस्तो माध्यम हो जहाँबाट एकैपटक विश्वभर आफ्ना कुरा पुर्‍याउन सकिन्छ। त्यसैले अब सामाजिक सञ्जालमार्फत बीमाको महत्त्व बुझाउने प्रयास गर्ने सोच बनाएको छु।

प्रत्यक्ष भेटेर बीमा गर्नु सुरक्षित हुन्छ कि अनलाइन माध्यमबाट?

सम्भव भएसम्म बीमा कम्पनीको शाखा कार्यालयमै पुगेर वा अभिकर्तासँग प्रत्यक्ष भेटेर बीमा गर्नु राम्रो हुन्छ। यसले अभिकर्ता र बीमितबीच राम्रो सम्बन्ध स्थापित गर्न तथा आवश्यक कुरा बुझ्न सहज बनाउँछ। मैले अहिलेसम्म अपनाएको मुख्य माध्यम पनि यही हो। मेरो धेरैजसो बीमा पुराना ग्राहकको सिफारिसबाट भएका छन्। जस्तै दोलखामा रहेका साथीको माध्यमबाट झापाका व्यक्तिसम्म पनि मेरो सम्पर्क पुगेको छ। यसरी मैले सामाजिक सञ्जाल प्रयोग नगरी नै कर्णालीदेखि कोशीसम्मका विभिन्न जिल्लाका मानिसको बीमा गराएको छु। तर प्रत्यक्ष भेटघाट सम्भव नभएको अवस्थामा अनलाइनबाट पनि बीमा गर्न सकिन्छ। त्यसका लागि कम्पनीको आधिकारिक वेबसाइट हेर्ने, गुगल तथा च्याटजीपीटीजस्ता माध्यमबाट जानकारी लिने र एउटा अभिकर्ताले दिएको जानकारी अर्को अभिकर्तासँग पनि पुष्टि गर्ने गर्नुपर्छ। घरघरमै पुगेर मात्रै बीमा गर्नु राम्रो हो वा सामाजिक सञ्जालबाट मात्रै गर्नुपर्छ भन्ने छैन। बीमितले आफूलाई सहज हुने माध्यम रोज्न सक्छन् तर आधिकारिक जानकारी जाँच गरेर मात्रै बीमा गर्नुपर्छ।

एमडीआरटीजस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपाली अभिकर्ताको सहभागिता अझै बढ्न नसक्नुको कारण के हो?

यसमा जनचेतनाको कमी र व्यावसायिक रूपमा अगाडि बढ्ने सोचको अभाव मुख्य कारण हुन्। नेपालमै बसेर बीमा अभिकर्ता पेसा अँगाल्दा भविष्यमा कहाँसम्म पुग्न सकिन्छ भन्ने विषयमा धेरैले ध्यान दिएका छैनन्। अभिकर्ताले यो पेसाबाट प्राप्त गर्न सकिने उपाधि, अन्तर्राष्ट्रिय पहिचान, आम्दानी र समाजमा पुर्‍याउन सकिने योगदानबारे बुझ्नुपर्छ। हामीले कुनै व्यक्तिको अनावश्यक रूपमा खर्च हुन सक्ने रकमलाई नियमित बचतमा ल्याउन र उसमाथि आइपर्न सक्ने जोखिमलाई बिमा कम्पनीमा हस्तान्तरण गर्न सहयोग गरिरहेका हुन्छौँ। सामान्यतया डाक्टरले निश्चित समयको स्वास्थ्य अवस्था मूल्याङ्कन गरेर उपचारसम्बन्धी निर्णय दिनुहुन्छ भने बीमा अभिकर्ताले कुनै व्यक्तिको १०, १५ वा २० वर्षसम्मको आर्थिक योजना बनाउन सहयोग गरिरहेको हुन्छ। त्यसैले आफ्नो कामको महत्त्व र जिम्मेवारी बुझेर व्यावसायिक रूपमा अघि बढ्न सकियो भने यस क्षेत्रमा नयाँ मानिस आकर्षित हुनुका साथै अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर पनि प्राप्त गर्न सकिन्छ।

नेपाल बीमा प्राधिकरणले अभिकर्ताका लागि के–कस्ता सुधार गर्नुपर्छ?

नेपाल बीमा प्राधिकरण गठन भएपछि धेरै नयाँ निर्देशन तथा परिपत्र जारी भएका छन्। ती सुधार राम्रै उद्देश्यका लागि ल्याइएका हुन् भन्नेमा मलाई शङ्का छैन। प्राधिकरणले अभिकर्ता पेसालाई अझ व्यावसायिक बनाउन खोजिरहेको देखिन्छ। तर ती सुधार किन आवश्यक छन् र त्यसबाट अभिकर्तालाई कसरी फाइदा पुग्छ भन्ने कुरा स्पष्ट रूपमा बुझाउन सकिरहेको छैन। अहिले प्राधिकरण र अभिकर्ताबीच दूरी बढेको जस्तो देखिन्छ। पहिले सामान्य रूपमा आवश्यक कागजात ह्वाट्सएपमा पठाएकै भरमा पनि अभिकर्ता बन्न सकिने अवस्था थियो। अहिले परीक्षाको मिति लिनुपर्ने, दर्ता गर्नुपर्ने र विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ। यसले पेसालाई व्यवस्थित बनाउन खोजिएको देखिन्छ। तर यी प्रक्रिया किन ल्याइएका हुन् भन्ने कुरा पनि स्पष्ट पार्नुपर्छ। त्यस्तै अभिकर्ताको हकमा करको दर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याइएको छ। अन्य क्षेत्रमा कर बढाइए पनि पछि पुनः समायोजन गरिएको अवस्थामा अभिकर्ताको कर मात्रै किन बढाइएको हो भन्ने प्रश्न उठ्छ। यो विषयमा पनि पुनर्विचार गर्न आवश्यक छ।

प्राधिकरण र अभिकर्ताबीच समन्वयको कमी छ?

समन्वयको कमी अवश्य छ र प्राधिकरणले अभिकर्तासँग प्रत्यक्ष रूपमा समन्वय गर्न नसक्नुको कारण के हो भन्ने कुरा उहाँहरूलाई नै बढी थाहा होला। तर व्यावहारिक रूपमा सम्भव छ भने अभिकर्तासँग पनि नियमित छलफल र अन्तरक्रिया हुनुपर्छ। यसमा अभिकर्ता सङ्घले पनि प्रभावकारी भूमिका खेल्न नसकेको हुन सक्छ। बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र विभिन्न विभागका कर्मचारीसँग मात्रै छलफल गरेर हुँदैन। बीमितसँग प्रत्यक्ष सम्पर्कमा रहने अभिकर्ताका समस्या र अनुभव पनि सुन्नुपर्छ। जुममार्फत नै भए पनि नियमित छलफल गर्न सकिन्छ। अभिकर्ता नै बीमितको घरदैलोमा पुग्ने भएकाले ग्राहकका वास्तविक समस्या, असन्तुष्टि र कठिनाइबारे अभिकर्तालाई बढी जानकारी हुन्छ। त्यसैले नीति बनाउँदा उनीहरूको अनुभवलाई पनि समेट्नुपर्छ।

ग्रे लिस्टबाट बाहिर निस्कने प्रयासका क्रममा अभिकर्तामाथि बढी कडाइ गरिएको हो?

हो, नेपाल अन्तर्राष्ट्रिय वित्तीय निगरानीसम्बन्धी ग्रे लिस्टमा रहेकाले त्यसबाट बाहिर निस्कन सरकारले प्रयास गरिरहेको छ। यो सरकारको अन्तर्राष्ट्रिय जिम्मेवारी पनि हो। तर त्यसका लागि जीवन बीमा क्षेत्रमा काम गर्ने अभिकर्तालाई नै बढी दबाब पर्ने गरी नियमहरू लागू गरिएको महसुस भएको छ। उदाहरणका लागि एक लाख रुपैयाँको बीमा गर्नुपर्ने अवस्थामा पनि बीमित स्वयं उपस्थित हुनुपर्ने, परिवारका सदस्य आवश्यक पर्ने र चेक अनिवार्य हुनुपर्ने जस्ता व्यवस्था कडा बनाइएको छ। नेपालमा ठेलागाडा चलाएर, हस्तकलाको काम गरेर, गाउँमा अलैँची खेती गरेर वा अन्य साना व्यवसायबाट आम्दानी गर्ने मानिस पनि छन्। सामाजिक सञ्जालबाट आम्दानी गर्नेहरू पनि छन्। तर सबैको आम्दानी औपचारिक प्रणालीमा देखिएको हुँदैन। यस्तो अवस्थामा सामान्य नागरिकलाई बीमा गर्न आवश्यक कागजात जुटाउन कठिन हुन्छ। पहिलेदेखि दुईदेखि पाँच लाख रुपैयाँसम्मको बीमाका लागि केही सहज व्यवस्था थियो। त्यस्तै १० लाख रुपैयाँसम्मको बीमा गर्न आम्दानीको धेरै कागजात नचाहिने र स्वयं घोषणा फाराम भरेर प्रक्रिया अघि बढाउन सकिने व्यवस्था थियो। मेरो विचारमा समयअनुसार यस्तो सीमा बढाएर १५ लाख रुपैयाँसम्मको बीमा गर्दा पनि धेरै कागजात आवश्यक नपर्ने व्यवस्था गर्नुपर्ने हो। सहज बनाउनुपर्ने ठाउँमा उल्टै नियमहरू थप कडा बनाइएको जस्तो लाग्छ।

नयाँ नियमले ग्राहकलाई बीमा गर्न झन्झट भएको छ?

एकदमै धेरै। यसको उदाहरण मैले आफैँले भोगेको छु। एक–दुई महिनाअघि कुनै ग्राहकलाई बीमा गर्न आवश्यक पर्ने कागजातबारे जानकारी दिएको हुन्छु। त्यतिबेला निश्चित कागजात भए पुग्छ भनेको हुन्छु। तर उहाँ बीमा गर्न तयार भएर आउँदासम्म प्राधिकरणको नयाँ नियम लागू भइसकेको हुन्छ र थप दुईवटा कागजात माग्नुपर्ने अवस्था आउँछ। त्यतिबेला ग्राहकले पहिले यति मात्रै कागजात भए पुग्छ भन्नुभएको थियो, अहिले किन थपियो भनेर प्रश्न गर्नुहुन्छ। मैले नयाँ नियमअनुसार कागजात माग्नैपर्छ तर ग्राहकले यसलाई झन्झटका रूपमा लिनुहुन्छ। कतिपयले त अब बीमा नै गर्दिनँ भनेर निर्णय बदल्नुहुन्छ। यसरी धेरै ग्राहक बीमा गर्नबाट पछि हटेका छन्। आफ्नै पैसा खर्च गरेर बीमा गर्न खोज्दा पनि किन यति धेरै प्रक्रिया पूरा गर्नुपर्ने भन्ने प्रश्न उठ्नु स्वाभाविक हो। त्यसैले नियम बनाउँदा वास्तविक अवस्था र ग्राहकको सहजतालाई पनि ध्यान दिनुपर्छ।

प्राधिकरणका निर्देशन बारम्बार परिवर्तन हुँदा अभिकर्तालाई काम गर्न कठिन भएको छ?

एकदमै कठिन भएको छ। मैले हाम्रो कम्पनीको एउटा कार्यक्रममा पनि यो विषय उठाएको थिएँ। त्यस कार्यक्रममा प्राधिकरणबाट आउनुभएका प्रतिनिधिले दिएका जवाफबाट म त्यति सन्तुष्ट हुन सकिनँ। मेरो मुख्य प्रश्न भनेको प्राधिकरणले के गर्न खोजिरहेको छ भन्ने कुरा स्पष्ट हुनुपर्छ भन्ने हो। एउटा परिपत्र जारी भएको केही समय बित्न नपाउँदै अर्को परिपत्र आउँछ। बीमा भनेको आज जानकारी गराएको व्यक्तिले आजै गर्ने भन्ने हुँदैन। कसैले पाँच महिनापछि गर्ला, कसैले एक वर्षपछि गर्ला। त्यसैले अभिकर्ताले ग्राहकलाई दिएको जानकारी बारम्बार परिवर्तन हुने अवस्था आउनु हुँदैन। आम्दानीको स्रोत प्रमाणित गर्ने विषयमा पनि पहिले बैंक खाताको विवरण भए पुग्ने व्यवस्था थियो। उदाहरणका लागि ७० हजार रुपैयाँ बीमाशुल्क तिर्नुपर्ने भए पनि खातामा ठ्याक्कै त्यति नै रकम देखिनुपर्छ भन्ने थिएन। तर अहिले बीमाशुल्क बराबरको रकम खातामा हुनुपर्ने जस्ता व्यवस्था आएको महसुस भएको छ। कसैको रकम अर्को बैंकमा हुन सक्छ वा तत्काल बैंक विवरण निकाल्न नसक्ने अवस्था हुन सक्छ। यस्ता सामान्य व्यावहारिक समस्याले पनि बीमा प्रक्रियामा अवरोध सिर्जना गरिरहेका छन्। ग्रे लिस्टबाट बाहिर निस्कन आवश्यक नियम बनाउनु राम्रो हो तर त्यसका कारण अभिकर्ताले काम नै गर्न नसक्ने अवस्था सिर्जना हुनु हुँदैन।

प्राधिकरणले नियम बनाउँदा के कुरामा ध्यान दिनुपर्छ?

कुनै पनि निर्णय गर्नुअघि नेपालको सामाजिक अवस्था, मानिसको स्वभाव, पहिलेदेखि चलिआएका अभ्यास र नागरिकको आर्थिक गतिविधिबारे गहिरो अध्ययन गर्नुपर्छ। हामीले आजै सबै नागरिकलाई एउटै प्रणालीमा ल्याउन सक्दैनौँ। कतिपय मानिस गाउँघरमा खेतीपाती गरेर जीविकोपार्जन गरिरहेका छन् भने कतिपयले पुरानै शैलीमा व्यवसाय सञ्चालन गरिरहेका छन्। कसैले २० वर्षदेखि पसल चलाइरहेको हुन सक्छ तर अहिलेसम्म पसल दर्ता गरेको नहुन सक्छ। उसले आज बीमा गर्न खोज्दा तत्काल सबै प्रक्रिया पूरा गर्न सक्ने अवस्था नहुन सक्छ। आज पसल दर्ता गरे पनि एक वर्ष पुरानो दर्ता खोज्ने हो भने त्यो व्यावहारिक हुँदैन। नागरिकलाई प्रणालीमा ल्याउने प्रक्रिया पनि सहज हुनुपर्छ। अहिले प्राधिकरण धेरै अगाडि बढ्न खोजिरहेको छ तर नागरिकहरू त्यही गतिमा तयार भइसकेका छैनन्। यो कुरा प्राधिकरणले बुझ्न जरुरी छ। ग्रे लिस्टबाट बाहिर निस्कनुपर्ने भन्दैमा सबै नियमको भार अभिकर्तामाथि मात्रै पर्ने गरी कडाइ गरिरहने हो भने अभिकर्ताहरू पनि चुप लागेर बस्न सक्ने अवस्था हुँदैन।

अभिकर्तालाई कम्पनीले थप के सहयोग गर्नुपर्छ?

कम्पनीले सबैभन्दा पहिले आफ्ना अभिकर्तालाई बलियो बनाउनुपर्छ। अभिकर्ता कम्पनीको मेरुदण्ड हुन् भनेर स्वयं कम्पनीले भन्ने गरेको छ। यदि अभिकर्ता कम्पनीको मेरुदण्ड हो भने त्यसलाई बलियो बनाउने जिम्मेवारी पनि कम्पनीकै हो। कम्पनी र अभिकर्ताबीच दूरी हुनु हुँदैन। दुवै एउटै सङ्गठनका सदस्य हुन् भन्ने भावना हुनुपर्छ। विशेषगरी लामो समयसम्म व्यावसायिक रूपमा काम गर्न चाहने अभिकर्तालाई आवश्यक ज्ञान र सीप प्रदान गर्न कम्पनीले कुनै सम्झौता गर्नु हुँदैन। अहिले कम्पनीहरूले विभिन्न कार्यक्रम र पुनर्ताजगी तालिम सञ्चालन गरिरहेका छन्। तर आवश्यक प्राविधिक ज्ञान दिने कार्यक्रम भने कम छन्। अभिकर्तालाई बीमासम्बन्धी प्राविधिक विषय, जोखिम मूल्याङ्कन प्रक्रिया, आवश्यक कागजात र दाबी भुक्तानीका क्रममा आउन सक्ने समस्याबारे पर्याप्त जानकारी दिनुपर्छ। कुनै बिमित परिपक्वता रकम लिन जाँदा कुन–कुन कागजात आवश्यक पर्छन् र कस्ता समस्या आउन सक्छन् भन्ने जानकारी अभिकर्तालाई पहिल्यै भयो भने उसले ग्राहकलाई सहज रूपमा सहयोग गर्न सक्छ। त्यस्तै प्राधिकरणबाट जारी भएका निर्देशन तथा परिपत्रबारे पनि अभिकर्तालाई नियमित जानकारी दिनुपर्छ। कम्पनीले सात दिनसम्मको प्राविधिक तालिम सञ्चालन गरेर पनि यस्ता विषय सिकाउन सक्छ। अभिकर्ताले आवश्यक ज्ञान प्राप्त गरेपछि त्यो जानकारी ग्राहकसम्म पुर्‍याउन सक्छन्। कम्पनीले विज्ञापन गरेर जानकारी दिनुभन्दा अभिकर्तामार्फत प्रत्येक ग्राहकसम्म पुर्‍याउँदा अझ प्रभावकारी हुन सक्छ। यसले कम्पनी र अभिकर्ताबीचको दूरी घटाउँछ, व्यवसाय विस्तार गर्छ र अन्ततः देशको अर्थतन्त्रमा समेत योगदान पुर्‍याउँछ। बीमा क्षेत्रमा छरिएर रहेको पैसा औपचारिक प्रणालीमा आउँछ। बीमा कम्पनीले त्यो रकम बैंक तथा वित्तीय प्रणालीमा परिचालन गर्छन्। यसरी अर्थतन्त्रका विभिन्न क्षेत्रमा पुँजी प्रवाह हुन्छ र देशको कुल गार्हस्थ्य उत्पादन अर्थात् जीडीपी वृद्धि गर्नसमेत सहयोग पुग्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*