बीमा प्राधिकरणले भन्यो, ‘कम्पनीले समयमै दाबी भुक्तानी नगरे आवश्यक प्रमाणसहित उजुरी दिनु’

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी प्रक्रियालाई थप छिटो, छरितो, सरल तथा प्रविधिमैत्री बनाइएको जनाएको छ। प्राधिकरणले एक सूचना प्रकाशित गर्दै बीमा क्षेत्रलाई मर्यादित, पारदर्शी, विश्वसनीय तथा बीमितमैत्री बनाउन विभिन्न नियामकीय तथा नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो।
प्राधिकरणका अनुसार बीमा ऐन, नियमावली तथा प्राधिकरणबाट जारी निर्देशिका र परिपत्रबमोजिम बीमकले तोकिएको समयावधिभित्र बीमा दाबी फर्छ्योट गर्नुपर्ने व्यवस्था रहेको छ। बीमितको पहुँच सहज बनाउन प्राधिकरणका केन्द्रीय तथा प्रादेशिक कार्यालयमार्फत आवश्यक सहजीकरण तथा सेवा प्रदान भइरहेको सूचनामा उल्लेख छ।
त्यस्तै, बीमक, कर्मचारी वा सर्भेयरले विद्यमान नीतिगत व्यवस्थाबमोजिम दाबी भुक्तानी प्रक्रियामा ढिलाइ गरेमा वा भुक्तानी नगरेमा बीमितले आवश्यक प्रमाणसहित नेपाल बीमा प्राधिकरणमा उजुरी दिन सक्ने व्यवस्था रहेको प्राधिकरणले स्पष्ट पारेको छ। दाबी भुक्तानीमा समस्या भोगेका बीमितले सम्बन्धित प्रमाणसहित प्राधिकरणसमक्ष आफ्नो गुनासो राख्न सक्नेछन्।
यसैगरी, हेलो सरकारमार्फत प्राप्त हुने बीमासम्बन्धी गुनासोलाई समेत यथाशीघ्र सम्बोधन गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।












