पोलिसी धितो राखेर बीमितले लिए ९५ अर्ब ८३ करोड रुपैयाँ कर्जा, कुन कम्पनीबाट कति?

काठमाडौं । जीवन बीमा कम्पनीहरूबाट बीमितले आफ्नो बीमालेख धितो राखेर लिने कर्जा बढेको छ। चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीमध्ये १३ कम्पनीबाट बीमितले लिएको कर्जा कुल ९५ अर्ब ८३ करोड ३९ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्म यस्तो कर्जा ९५ अर्ब २९ करोड ८७ लाख रुपैयाँ थियो। यसरी एक वर्षको अवधिमा बीमालेख धितोमा प्रवाह भएको कर्जा ०.५६ प्रतिशतले बढेको हो।
कम्पनीहरुले सार्वजनिक गरेको चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार सबैभन्दा धेरै बीमालेख कर्जा नेपाल लाइफ इन्स्योरेन्सका बीमितले लिएका छन्। कम्पनीका बीमितले असोज मसान्तसम्म ३४ अर्ब ७० करोड २९ लाख रुपैयाँ कर्जा लिएका छन्। गत वर्षको सोही अवधिमा यस्तो कर्जा ३५ अर्ब १५ करोड २ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा नेपाल लाइफको बीमालेख कर्जा १.२७ प्रतिशतले घटेको छ।
त्यस्तै एलआईसी नेपालका बीमितले १९ अर्ब ६८ करोड ७२ लाख रुपैयाँ कर्जा लिएका छन्। गत वर्षको असोजसम्म कम्पनीको यस्तो कर्जा २१ अर्ब १४ करोड २१ लाख रुपैयाँ थियो। एक वर्षमा एलआईसी नेपालको बीमालेख कर्जा ६.८८ प्रतिशतले घटेको छ। कर्जा रकमका आधारमा भने नेपाल लाइफपछि एलआईसी नेपाल दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सका बीमितले १२ अर्ब ४७ करोड ५२ लाख रुपैयाँ कर्जा लिएका छन्। गत वर्षको सोही अवधिमा यस्तो कर्जा १२ अर्ब ४७ करोड ३० लाख रुपैयाँ थियो। कम्पनीको बीमालेख कर्जा ०.०२ प्रतिशतले मात्र बढेको देखिन्छ।
हिमालयन लाइफ इन्स्योरेन्सका बीमितले ८ अर्ब ७१ करोड ५० लाख रुपैयाँ कर्जा लिएका छन्। गत वर्षको असोज मसान्तमा ८ अर्ब १७ करोड २ लाख रुपैयाँ रहेको यस्तो कर्जा ६.६७ प्रतिशतले बढेको हो। त्यस्तै सूर्यज्योति लाइफका बीमितले ५ अर्ब ३४ करोड ६५ लाख र रुपैयाँ कर्जा लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ८६ करोड २५ लाख रुपैयाँ रहेको कर्जा ९.९५ प्रतिशतले वृद्धि भएको छ। एशियन लाइफ इन्स्योरेन्समा बीमालेख धितोमा प्रवाह भएको कर्जा ५ अर्ब ३० करोड ४ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यस्तो कर्जा ५ अर्ब १८ करोड ९७ लाख रुपैयाँ थियो। यसमा २.१३ प्रतिशतको वृद्धि देखिएको छ। सानिमा रिलायन्स लाइफका बीमितले २ अर्ब ६ करोड ६ लाख रुपैयाँ कर्जा लिएका छन्। अघिल्लो वर्ष १ अर्ब ६५ करोड ७२ लाख रुपैयाँ रहेको यस्तो कर्जा २४.३४ प्रतिशतले बढेको हो।

मेट लाइफमा भने बीमालेख कर्जा घटेको छ। कम्पनीका बीमितले चालू आर्थिक वर्षको असोजसम्म १ अर्ब ७२ करोड ५५ लाख रुपैयाँ कर्जा लिएका छन्। गत वर्षको सोही अवधिमा यस्तो कर्जा १ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ थियो। यसअनुसार कर्जा ४.९१ प्रतिशतले घटेको छ। प्रभु महालक्ष्मी लाइफका बीमितले १ अर्ब ५६ करोड ५१ लाख रुपैयाँ कर्जा लिएका छन्। गत वर्षको असोजसम्म १ अर्ब ३० करोड ४ लाख रुपैयाँ रहेको यस्तो कर्जा २०.३६ प्रतिशतले बढेको छ। यस्तै आईएमई लाइफमा बीमालेख कर्जा सबैभन्दा उच्च दरमा वृद्धि भएको छ। कम्पनीका बीमितले १ अर्ब ४० करोड ७५ लाख रुपैयाँ कर्जा लिएका छन् जुन गत वर्षको १ अर्ब ९ करोड ७७ लाख रुपैयाँको तुलनामा २८.२२ प्रतिशत बढी हो।
सिटिजन लाइफ इन्स्योरेन्सका बीमितले १ अर्ब ३३ करोड ९८ लाख रुपैयाँ कर्जा लिएका छन्। अघिल्लो वर्ष १ अर्ब ९ करोड ५७ लाख रुपैयाँ रहेको यस्तो कर्जा २२.२८ प्रतिशतले बढेको छ। सन नेपाल लाइफमा ८० करोड ४९ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। गत वर्षको सोही अवधिमा ७७ करोड ९ लाख रुपैयाँ रहेको कर्जा ४.४१ प्रतिशतले बढेको हो। त्यसैगरी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमितले ७० करोड २६ लाख रुपैयाँ कर्जा लिएका छन्। गत वर्षको असोजसम्म ५७ करोड ३९ लाख रुपैयाँ रहेको यस्तो कर्जा २२.४३ प्रतिशतले वृद्धि भएको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले भने आफ्नो त्रैमासिक वित्तीय विवरण यस्तो कर्जा उल्लेख गरेको छैन।
समग्रमा जीवन बीमा कम्पनीहरूको बीमालेख धितोमा प्रवाह भएको कर्जा एक वर्षमा सामान्य रूपमा बढेको देखिन्छ। कर्जा रकमका आधारमा नेपाल लाइफ र एलआईसी नेपाल अगाडि रहे पनि वृद्धिदरका आधारमा आईएमई लाइफ पहिलो स्थानमा छ। बीमितले आफ्नो व्यक्तिगत तथा आकस्मिक वित्तीय आवश्यकताका लागि आफ्नो बीमालेख धितोमा राखेर कर्जा लिने गर्छन्। कम्पनीले यस्तो कर्जा दिएबापत शर्त बमोजिम बीमितबाट ब्याज लिने गर्छ। बीमितलाई आकस्मिक वित्तीय आवश्यकता पर्दा बीमा सरेण्डर गर्न नपरोस् भनेर कम्पनीहरुले यस्तो कर्जा दिने गरेका छन्। बीमितले पोलिसी खरिद गरेको ३ वर्ष पूरा भएपछि मात्रै यस्तो कर्जा सुविधा पाउने गर्छन्।











