समस्याग्रस्त कर्णाली विकास बैंकलाई नमुना बनाइने, घोटाला गर्नेहरु आउट, निक्षेपकर्तालाई लगानीको अवसर

१२ मंसिर २०८३, शनिबार १९:१६

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली विकास बैंकलाई पुनसंरना गर्ने क्रम जारी राखेको छ । राष्ट्र बैंकले समस्याग्रस्त कर्णाली विकास बैंकलाई अब पाँच अर्बको नमुना विकास बैंकको रुपमा अघि सारिने भएको छ ।

राष्ट्र बैंकले आम सर्वसाधारणमा वित्तीय संस्थाहरुप्रति थप विश्वस्त बनाउन नयाँ मोडालिटीमा अघि बढाउन लागेको हो । हालको ५० करोड चुक्ता पुँजिको बैंकलाई ५०० करोडको शक्तिशाली बनाएर अघि बढाइने भएको छ । त्यसको लागि वर्तमान संस्थापक शेयरधनी, निक्षेपकर्ताहरु सबैलाई समान अवसर दिइने र आवश्यक परेमा सर्वसाधारणमाँझ आईपिओ जारी गरेर पुँजि संकलन गरी नमुना विकास बैंकको रुपमा अघि बढाउन लागिएको प्रबक्ता रामु पौडेलले जानकारी दिए ।

बैंकको हालको अधिकृत पुँजी ६० करोड र जारी तथा चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रहेकोमा बैंकमा अपचलनमा संलग्न संस्थापक सेयरधनी तथा सञ्चालकहरूको स्वामित्वमा रहेको २१ लाख ३६ हजार ६१ कित्ता संस्थापक सेयर र १२ हजार ६८५ कित्ता साधारण सेयरलाई एक प्रतिशतमा सीमित गरिएको छ ।

केन्द्रीय बैंकले बैंकमा कर्जा तथा निक्षेप अपचलनमा संलग्न सञ्चालकहरु राजेन्द्र विर राय, पशुपति दयाल मिश्र लगायतकाहरुको शेयर अनुपात घटाइएको हो । बैंक घोटालामा संलग्नहरुबाट करिब २१ करोड ४८ लाख रुपैयाँ भन्दा बढि रकम घटाइएको छ । समायोजन पश्चात २९ करोड १ लाख ४ हजार १६० रुपैयाँ शेयर कायम हुन आएको छ । यस कदमले बैंकमा अनियमितता तथा अपचलनमा संलग्न व्यक्तिहरूको स्वामित्व र प्रभाव घटाई उनीहरूको सहभागिता न्यून गर्ने र भविष्यमा पनि त्यस्तो कार्यबाट अनुचित लाभ लिन नसक्ने स्पष्ट सन्देश दिएको केन्द्रीय बैंकका सूचना अधिकारी रामु पौडेलले जानकारी दिए ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ङ) को उपदफा (१) को खण्ड (ख) बमोजिम अपचलनमा संलग्न नभएका विद्यमान संस्थापक सेयरधनीहरूलाई थप लगानीको अवसर प्रदान गरी बैंकको पुँजी आधार बलियो बनाउने व्यवस्था गरिएको छ । यसका लागि अधिकृत पुँजी ६० करोडमा ४४० करोड थप गरी ५०० करोड पुर्‍याउने निर्णय गरिएको छ ।

पुनर्पुजीकरण तथा पुनर्संरचनापछि कायम हुने पुँजीको ६० प्रतिशत संस्थापक सेयर कायम गर्ने गरी करिब २६४.६३ करोड बराबरको संस्थापक सेयर नयाँ स्वदेशी लगानीकर्तामार्फत परिचालन गरिनेछ । स्वदेशी लगानीबाट आवश्यक रकम जुट्न नसकेमा विदेशी लगानीकर्तालाई समेत लगानीका लागि आह्वान गरिनेछ ।

यसका अतिरिक्त, ५ लाखभन्दा बढी निक्षेप भएका व्यक्तिगत निक्षेपकर्तालाई आफ्नो त्यस्तो निक्षेपको अधिकतम ५० प्रतिशतसम्म रकम बराबरको संस्थापक सेयरमा स्वेच्छिक रूपमा लगानी गर्ने अवसर प्रदान गर्न ८५ लाख कित्ता सेयर छुट्याइएको केन्द्रीय बैंकले जनाएको छ ।

निक्षेपकर्ताले यसरी प्राप्त गरेको संस्थापक सेयरलाई प्रचलित कानुनबमोजिम सर्वसाधारण सेयर समूहमा परिणत गर्ने व्यवस्था पनि गरिएको छ । अन्ततः ५०० करोडको लक्षित चुक्ता पुँजी नपुगेको रकम सर्वसाधारण समूहको सेयर जारी गरी परिचालन गरिनेछ ।

यसरी राष्ट्र बैंकको रिजोलुसन रणनीतिले अपचलनमा संलग्न व्यक्तिहरूको प्रभाव घटाउने, नयाँ लगानीकर्ता भित्राउने, निक्षेपकर्तालाई समेत स्वेच्छिक रूपमा पुँजीमा सहभागी हुने अवसर दिने र बैंकको वित्तीय आधार सुदृढ बनाउने लक्ष्य राखेको छ प्रबक्ता पौडेलले जानकारी दिए । सर्वसाधारणको निक्षेप तथा हित संरक्षण गर्दै कर्णाली डेभलपमेन्ट बैंकलाई पुनः जीवन्त, सबल, सुशासित र जनताको विश्वास जित्न सक्ने बैंकका रूपमा स्थापित गर्नु रहेको उनले बताए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*