एलओडी क्लब : नेपाली रात्री व्यवसायलाई विश्वमै चिनाएको सफल मोडल

१६ बैशाख २०८२, मंगलवार १५:५८

काठमाडौं । ठमेलस्थित एलओडी क्लबले नेपाली रात्रीकालीन व्यवसायको प्रतिष्ठा विश्वसामु पुर्‍याउँदै ६ वर्षको छोटो अवधिमै ऐतिहासिक सफलता हात पारेको छ। ‘विश्वकै उत्कृष्ट १०० क्लब’ को सूचीमा ४४औं स्थानमा स्थान बनाउँदै एलओडीले नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा उजागर गरेको छ।

सोमबार साँझ क्लबले यो उपलब्धिको अवसरमा विशेष उत्सव आयोजना गर्‍यो, जसमा क्लबका निर्देशक भुपेन कुँवरले आफ्ना कर्मचारीहरूको समर्पण र प्रतिबद्धतालाई प्रमुख कारणका रूपमा प्रस्तुत गरे। कार्यक्रममा बोल्दै उनले भने, ‘एलओडी क्लबको मेरुदण्ड भनेको यहाँका कर्मचारीहरू हुन्। उहाँहरूको निरन्तरको मेहनतले नै हामीलाई आजको यो गौरवपूर्ण स्थानमा ल्याएको हो।’

क्लबमा हाल १५० भन्दा बढी कर्मचारी कार्यरत छन्। निर्देशक कुँवरका अनुसार एलओडीले सुरुदेखि नै पाहुनालाई सर्वाेच्च प्राथमिकता दिएको छ। ‘हामी पाहुनालाई पहिलोपटक आउँदा जस्तो सत्कार दिन्छौं, त्यसै कारण उनीहरू दोहोरिएर आउने वातावरण बनेको छ’ उनले भने। ‘हामी सबै पाहुनालाई समान दृष्टिले हेर्छौं र सम्मानपूर्वक विदा गर्छौं। यसले नै क्लबको पहिचान फराकिलो बनाएको हो।’

कुँवरले क्लबले समाजप्रतिको जिम्मेवारी पूरा गर्दै आएको उल्लेख गर्दै समाजमा रहेको नकारात्मक धारणा तोड्न सफल भएको दाबी गरे। ‘हामी नेपाली समाजदेखि टाढा छैनौं, हामी पनि यही समाजका नागरिक हौं’ उनले भने हामीले वि:शुद्ध व्यवसाय गरेका छौं, राज्यप्रति हाम्रो दायित्व पूरा गरेका छौं।’

उनले रात्रीकालीन व्यवसायप्रति नेपाली समाजमा रहेका पुराना धारणाहरू गलत रहेको बताए। क्लब जानु भनेको नैतिक पतन हो भन्ने सोच गलत रहेको कुँवरकोजोड छ। ‘नियत राम्रो भए, मनोरञ्जन पनि सभ्य र मर्यादित तरिकाले गर्न सकिन्छ। हामीले परिवारसहित क्लब आउने संस्कृतिको सुरुवात गर्यौं भन्ने दाबी गर्छु’ उनले भने ।

एलओडी क्लबले देशी तथा विदेशी पाहुनाहरूको रोजाइमा आफूलाई पहिलो नम्बरमा राख्न सफल भएको छ। ‘अहिले राजधानी काठमाडौं आउने विदेशी पर्यटकको पहिलो प्राथमिकतामा एलओडी पर्न थालेको छ’ कुँवरले बताए। ‘यो देशकै लागि गौरवको विषय हो।’

एलओडीले पछिल्ला दिनहरूमा आफ्ना सेवा र भौतिक पूर्वाधारमा पनि सुधार ल्याउँदै आएको छ। क्लबका अनुसार इन्टिरियर डिजाइन, लाइट, म्युजिक सिस्टम लगायत संरचनागत पक्षमा व्यापक परिमार्जन गर्ने योजना अन्तिम चरणमा पुगेको छ। नयाँ सिट व्यवस्थापन भइसकेको छ भने अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुविधाजनक वातावरण बनाउन लागिएको छ।

एलओडी क्लबको मुख्य उद्देश्य भनेको नेपाली समाजमा सकारात्मक क्लब संस्कृतिको विकास गर्नु हो। कुँवर भन्छन्, ‘हामीले यस्तो वातावरण बनाएका छौं, जहाँ कुनै पनि व्यक्ति — चाहे युवा होस् वा परिवारका साथमा आएका पाहुना — निडर, सुरक्षित र खुला वातावरणमा मनोरञ्जन गर्न सकून्।’

एलओडी क्लबले स्थापित गरेको यस्तो समावेशी वातावरणको प्रभाव अब नेपालका अन्य शहरहरूमा समेत विस्तार हुँदै गएको देखिन्छ। क्लबमा आउने पाहुनाको बृहत उपस्थितिबाट यो पुष्टि हुन्छ कि एलओडीले नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ अध्याय कोरेको छ।

एलओडी क्लबले नेपाली रात्री व्यवसाय क्षेत्रलाई मात्र होइन, सम्पूर्ण सेवा क्षेत्रलाई प्रेरणा दिने किसिमले उचाइमा पुर्‍याएको छ। विश्वस्तरको मान्यता पाउनु कुनै सामान्य उपलब्धि होइन। यस्तो उपलब्धिमा कर्मचारी, व्यवस्थापन, सेवाग्राही र समाजको विश्वास सबैको भूमिका रहेको एलओडीको यात्राले प्रमाणित गरिसकेको छ। रात्री व्यवसायलाई सकारात्मक दृष्टिकोणबाट हेर्न सिकाउने, नेपाली समाजमा नयाँ सोचको विकास गराउने र अन्तर्राष्ट्रिय तहमा नेपाली पहिचान फैलाउने एलओडी क्लबजस्तो संस्थाले देशको इमेज निर्माणमा उल्लेखनीय योगदान गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*