स्कूलको पुस्तकालय अनुदानमा १७ लाख हिनामिना

काठमाडौं । जाजरकोटको मान्नेढुङ्गा माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाका लागि आएको सरकारी अनुदान हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार जाजरकोटको कुशे गाउँपालिका–२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयमा आर्थिक वर्ष २०७३/७४ मा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त पुस्तकालय अनुदानको रकम हिनामिना भएको हो।
विद्यालयका पदाधिकारी तथा कर्मचारीले अनुदानबापत प्राप्त रकम सापटी लिएको र फिर्ता नगरेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिचन्द्र जैसी, सदस्य जनकबहादुर नेपाली, प्रधानाध्यापक धनबहादुर सिंह र लेखा सहायक धीरेन्द्रबहादुर सिंहले आपसी मिलेमतोमा सरकारी अनुदानको रकम गैरकानुनी रूपमा ऋण सापटी लिएको खुलेको छ।
आयोगका अनुसार उनीहरूले उक्त रकम आपसमा बाँडफाँट गरी हालसम्म फिर्ता नगर्दा सरकारी तथा सार्वजनिक संस्थालाई १७ लाख ४१ हजार ४४६ रुपैयाँ बराबरको हानि–नोक्सानी भएको छ।
आयोगले हरिचन्द्र जैसी, धनबहादुर सिंह र धीरेन्द्रबहादुर सिंहविरुद्ध जनही १७ लाख ४१ हजार ४४६ रुपैयाँ र जनकबहादुर नेपालीविरुद्ध १ लाख रुपैयाँ बिगो कायम गरी सोही अनुसार कैद, बिगोबराबर जरिवाना र हिनामिना भएको रकम असुलउपर गर्न मागदाबी लिई मुद्दा दायर गरेको हो।











