जगन्नाथ देवल कारागारमा बेथिति ! राजकुमार तिमल्सिनाद्वारा जेल प्रशासनमाथि गम्भीर आरोप

१३ कार्तिक २०८३, शुक्रबार १३:०१

काठमाडौँ । ‘डार्क फाइल’ कार्यक्रमलाई फेक अडियो उपलब्ध गराएर अदालतबाट दोषि ठहर भएका राजकुमार तिमल्सिनाले केन्द्रीय कारागार कार्यालय जगन्नाथ देवलको प्रशासन र सुरक्षा निकायमाथि गम्भीर आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अदालतबाट तोकिएको जरिवाना तथा धरौटी बुझाइसकेको र मुद्दामा भएको सजायसमेत भुक्तान गरिसकेको अवस्थामा अदालतले थुनामुक्त गर्न आदेश दिँदासमेत आफूलाई थप २४ दिनभन्दा बढी गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरेका हुन् ।

उनले केन्द्रीय कारागार कार्यालय जगन्नाथ देवलका प्रमुख सुरेश आचार्य र जगन्नाथ देवल अनाश्रित गुल्मका डीएसपी शैलेश न्यौपानेको नाम उल्लेख गर्दै भनेका छन् , “सम्मानित सर्वोच्च अदालत, ललितपुर जिल्ला अदालत, भक्तपुर जिल्ला अदालतलगायत सम्पूर्ण अदालतमा मैले तिर्नुपर्ने जरिवाना र धरौटी तिरी ती मुद्दामा लागेका सम्पूर्ण सजायसमेत भुक्तान गरिसकेको थिएँ। सबै अदालतबाट मुद्दाको रोहबाट थुनामुक्त गर्नु भन्ने आदेशसहित पत्राचारसमेत भएको अवस्थामा २०८३ साल असोज १ गतेदेखि थप पक्राउ पुर्जी, थुनुवा पुर्जी र कैदी पुर्जीबिना मानसिक, शारीरिक तथा सामाजिक पीडा दिँदै निरन्तर २४ दिनभन्दा बढी थुनामा राखियो,”।

कारागार प्रशासनले आफूलाई थप ७१ हजार ६०० रुपैयाँ बुझाउनुपर्ने भन्दै कागजसमेत लेखेर दिएको उनको भनाइ छ। उक्त रकम कहाँ र किन बुझाउने भन्ने प्रश्न गर्दा उल्टै आफूलाई मानसिक यातना दिइएको उनले आरोप लगाएका छन्। “मैले उक्त रकम कहाँ बुझाउने ? किन बुझाउने ? अदालतभन्दा ठूलो जेल प्रशासन हो ? अदालतको आदेश जेल र जेलरले किन नमान्ने ? भन्ने प्रश्न गरेपछि मेरा सम्पूर्ण भेटघाट र फोनसमेत रोकियो। निरन्तर निगरानीमा राखेर मानसिक टर्चरसमेत दिइयो,” उनले फेसबुकमा लेखेका छन्।

आफूमाथि भएको भनिएको व्यवहारबारे आवश्यक कारबाही तथा क्षतिपूर्तिको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग र कारागार व्यवस्था विभागलगायतका निकायमा लिखित उजुरी तथा जाहेरी दिएको पनि तिमल्सिनाले बताएका छन्। तर, अहिलेसम्म कुनै पनि निकायबाट कारबाही प्रक्रिया अघि नबढेको उनको गुनासो छ। उनले सार्वजनिक रूपमा नै सम्बन्धित निकायलाई छानबिन तथा कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।

तिमल्सिनाले केन्द्रीय कारागार कार्यालय जगन्नाथ देवलले केन्द्रीय अस्पतालबाट प्रदान गरिने सेवामा समेत चरम भ्रष्टाचार भइरहेको आरोप लगाएका छन्। उनका अनुसार बिरामी कैदीबन्दीका नाममा ठेकेदारमार्फत विभिन्न बाहिरी अस्पताल तथा फार्मेसीबाट औषधि ल्याउने गरिएको र ती औषधि सम्बन्धित व्यक्तिसम्म नपुर्‍याई अन्य फार्मेसीमा बिक्री गरेर आर्थिक लाभ लिने गरिएको छ। यस विषयमा आफूले तीन महिनाअघि नै जनआस्थामा समाचारसमेत प्रकाशन गराएको उनले उल्लेख गरेका छन्।

यस विषयमा बुद्धरत्न महर्जन, सुलभ खरेल, आशिका तामाङ, यज्ञमणि न्यौपाने, मधु चौलागाईं, प्रभा कार्की, प्रकाश कार्की तथा रवि लामिछानेको सचिवालयलगायतलाई जानकारी गराइसकेको पनि उनले बताएका छन्। त्यस्तै, गृहमन्त्रीका स्वकीय सचिवहरूलाई समेत यसबारे अवगत गराएको उनको भनाइ छ।

आफ्नो उपचारका क्रममा चिकित्सकले सिफारिस नगरेका औषधिसमेत जबर्जस्ती प्रेस्क्रिप्सनमा लेखाएर बाहिर बिक्री गर्ने गरिएको तिमल्सिनाको अर्को आरोप छ। “मेरो उपचारका सिलसिलामा डाक्टरले नमागेका औषधिहरू जबर्जस्ती प्रेस्क्रिप्सनमा लेखाई बाहिर लगेर बेच्दै गर्दा मैले तत्कालीन समयमा प्रमाणका रूपमा ती औषधि बेच्न नदिई जफत गरेर राखेको छु। ती औषधि प्रमाणका रूपमा म पेस गर्न सक्छु,” उनले लेखेका छन्। उक्त विषयमा कारागार व्यवस्था विभागका महानिर्देशकलाई समेत जानकारी गराइसकेको उनले दाबी गरेका छन्।

कारागारभित्र कैदीबन्दीमाथि प्रहरीले गर्ने दुर्व्यवहार, मानसिक यातना तथा अन्य गतिविधिबारे पनि सम्बन्धित निकायलाई जानकारी गराएको तिमल्सिनाले बताएका छन्। प्रहरीका गलत गतिविधिबारे लिखित उजुरी दिँदासमेत डीएसपीलाई संरक्षण गर्दै छानबिन समितिबाट उन्मुक्ति दिने काम भएको उनको आरोप छ। उनले कारागारको जेल प्रशासन र सुरक्षा प्रशासनको कामकारबाहीमाथि प्रश्न उठाउँदै गलत गतिविधि तथा आर्थिक कारोबारलाई संरक्षण गर्ने वा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने भन्ने विषय सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने बताएका छन्।

“केन्द्रीय कारागार कार्यालयको जेल प्रशासन र सुरक्षा प्रशासनका गलत कामकारबाही तथा व्यापारधन्दा फस्टाउने र संरक्षण गर्न दिने वा यिनीहरूलाई कारबाहीको दायरामा ल्याउने ? बाँकी काम सम्बन्धित निकायहरूको हो। आवश्यक पर्दा प्रमाण र बयान दिन म आफैँ उपस्थित हुनेछु। किनकि म स्वयं पीडित हुँ। कारागारबाट निस्किने सबैले बोल्दैनन्, तर म बोल्न सक्छु। किनकि मैले धेरै प्रमाणहरू राखेको छु र साक्षी पनि छन्,” तिमल्सिनाले फेसबुकमा लेखेका छन्।

यसअघि पनि तिमल्सिनाले सञ्चारमाध्यमलाई फेक अडियो उपलब्ध गराएको आरोपमा अदालतबाट दोषी ठहर भई ६ महिना कैद सजाय पाउने फैसला भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*