निरन्तर घट्दै बैंकहरुको बेस रेट, कुन-कुनबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?

२२ जेष्ठ २०८२, बिहीबार ११:५४

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको आधार दर (बेस रेट) लगातार घट्दै गएको छ । २० वटै वाणिज्य बैंकको बेस रेट घट्दै जाँदा ब्याजदर समेत निरन्तर घट्दो क्रममा रहेको हो ।

पछिल्लो एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको औसत आधार दर २.३१ प्रतिशत विन्दुले घटेको छ । तर, बैंशाखको तुलनामा जेठमा वाणिज्य बैंकको औसत आधार दर १० प्रतिशत बिन्दुुले घटेको छ ।

बैंकिङ प्रणालीमा तरलता अत्यधिक भएको, कर्जाको माग सुस्त रहेको र निक्षेपमा निरन्तर वृद्धि भइरहेकाले यस्तो अवस्था देखिएको हो । वर्तमानमा बैंकहरूसँग लगानीयोग्य रकम पर्याप्त मात्रामा छ । तर कर्जाको माग अपेक्षा गरेजति बढ्न नसक्दा रकम निष्क्रिय भएर बसेको छ ।

ब्याजदर घटेको भए पनि कर्जाको माग पर्याप्त नभएकाले अहिले पनि बैंकहरूमा ६ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको अवस्थामा छ । एकातिर रेमिट्यान्स र निक्षेप बढिरहेको छ भने अर्कोतिर कर्जाको गति सुस्त छ । साथै, पुराना कर्जाको असुलीमा समस्या देखिँदा बैंकहरूको खराब कर्जा अनुपातसमेत बढिरहेको छ ।

सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटबाट भने व्यवसायीहरूमा आशा जागेको छ ।

कुन बैंकबाट ऋण लिँदा सस्तो ?

जेठ महिनाको आधार दरका आधारमा सबैभन्दा सस्तो ब्याजमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋण र राष्ट्रिय वाणिज्य बैंकले प्रदान गर्ने देखिन्छ । हाल दुबैं बैंकको आधार दर ४.९७ प्रतिशत छ ।

यस्तै, एभरेष्ट बैंकको ५.३८ प्रतिशत, नेपाल एसबिआई बैंकको ५.८२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.९१ प्रतिशत र नबिल बैंकको ५.९३ प्रतिशत बेस रेट रहेको छ ।

यस्तै, हाल बेस रेट ग्लोबल आइएमई बैंकको ६.१६ प्रतिशत, कृषि विकास बैंकको ६.२२ प्रतिशत, सानिमा बैंकको ६.३७ प्रतिशत, माछापुच्छ्रे बैंकको ६.४१ प्रतिशत र एनएमबि बैंकको ६.४३ प्रतिशत रहेको छ ।

बेस रेट कर्जाको ब्याजदर निर्धारण गर्ने आधारभूत सूचक हो, जसको बढ्दो वा घट्दो अवस्थाले ऋणीले तिर्नुपर्ने ब्याजदरमा प्रत्यक्ष असर पार्दछ । जब बेस रेट बढ्छ, कर्जाको ब्याजदर पनि स्वतः बढ्ने भएकाले ऋण लिने खर्च महँगो हुन्छ, र जब बेस रेट घट्छ, त्यही अनुपातमा ब्याजदर घट्ने भएकाले ऋणीलाई राहत मिल्ने गर्दछ । बैंकहरूले आफ्नो आधार दरमा कर्जाको प्रकारअनुसार १ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा दिने गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*