बीमा प्राधिकरणमा एक कार्यकारी निर्देशक, ३ निर्देशकसहित १०९ जना दरबन्दी थप गर्ने प्रस्ताव अर्थमन्त्रालयमा

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले एक कार्यकारी निर्देशक, ३ जना निर्देशकसहित कूल १०९ जना नयाँ कर्मचारी दरबन्दी थप गर्ने निर्णय गरी स्वीकृतिको लागि अर्थ मन्त्रालयमा पेश गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकबाट पास गरिएको उक्त प्रस्ताव स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरिएको हो ।
प्राधिकरणको सञ्चालक समितिको बैठकले हालको अस्थायी दरबन्दी समेतलाई समायोजन हुने गरी कूल १०९ जना दरबन्दी थप गर्ने प्रस्ताव गरेको हो । प्राधिकरणले नियमनलाई थप प्रभावकारी बनाउन र कार्यालय सञ्चालन थप सुदृढ पार्न भन्दै नयाँ दरबन्दी थप गर्ने प्रस्ताव गरेको एक सञ्चालकले बीमापोष्टलाई जानकारी दिए ।
प्रस्ताव अनुसार १७ जना उप निर्देशक र ५२ जना सहायक निर्देशकको दरबन्दी थप गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, ३६ जना सहायक प्रथम र एक जना कार्यालय सहयोगी सहित कूल १०९ जनाको नयाँ दरबन्दी थप हुनेछ ।
हाल अर्थमन्त्रालयमा रहेको सो प्रस्ताव मन्त्रालयबाट स्वीकृत भई लोकसेवा आयोगमा पुगेपछि अर्को बर्ष विज्ञापनमार्फत प्रक्रिया पुरा गरेर मात्रै नियुक्ती हुनेछ ।
नयाँ प्रस्ताव अनुसार कार्यकारी निर्देशक र निर्देशक बाहेक अधिकांश खुल्ला प्रतिस्पर्धाबाट आउने सम्भावना रहेको छ ।













