मध्य भोटेकोशी जलविद्युतको नाफा झन्डै १० गुणाले बढ्यो, तीन महिनामै कमायो १९ करोड ६१ लाख

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म १९ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७७.८३ प्रतिशत अर्थात् झन्डै १० गुणा बढी हो। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको नाफामा उच्च वृद्धि हुनुमा विद्युत बिक्रीबाट हुने आम्दानीमा भएको ठूलो सुधार मुख्य कारण देखिएको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनामा १० करोड १८ लाख रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी चालु वर्षको सोही अवधिमा ६४५.११ प्रतिशतले बढेर ७५ करोड ८९ लाख रुपैयाँ पुगेको छ।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको सञ्चालन नाफा पनि उल्लेख्य रूपमा बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ६ करोड ३ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालु वर्षको सोही अवधिमा ६५२.२४ प्रतिशतले बढेर ४५ करोड ३९ लाख रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको कुल नाफा ६२४.८४ प्रतिशतले वृद्धि भई ७० करोड ६४ लाख रुपैयाँ पुगेको छ।
नाफामा आएको सुधारसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। गत वर्ष १ रुपैयाँ १० पैसा रहेको यस्तो आम्दानी चालु वर्षको पहिलो त्रैमासमा बढेर १३ रुपैयाँ ७ पैसा पुगेको छ। त्यस्तै प्रतिशेयर नेटवर्थ ९३ रुपैयाँ ६९ पैसाबाट बढेर ९९ रुपैयाँ ४७ पैसा कायम भएको छ।
कम्पनीको सञ्चित नोक्सानीमा समेत उल्लेख्य कमी आएको छ। गत वर्षको पहिलो त्रैमासमा ३७ करोड ६६ लाख रुपैयाँ रहेको सञ्चित नोक्सानी घटेर चालु वर्षको सोही अवधिमा ३ करोड १८ लाख रुपैयाँमा झरेको छ। समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ यथावत् रहेको छ भने दीर्घकालीन ऋण ६.७६ प्रतिशतले घटेर १५ अर्ब १५ करोड रुपैयाँ कायम भएको छ। कम्पनीको कुल सम्पत्ति भने १.८२ प्रतिशतले घटेर २१ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ।











