अरुण काबेली पावरको नाफा ६५ प्रतिशतले घट्यो, आम्दानीमा पनि गिरावट

२२ कार्तिक २०८३, आईतवार १०:१९

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको खुद नाफामा उल्लेख्य गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ६५.२७ प्रतिशतले घटेको हो।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म २ करोड १ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ८० लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको सञ्चालन आम्दानीमा समेत गिरावट आएको छ। गत वर्षको पहिलो तीन महिनामा १९ करोड ४२ लाख ८७ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी चालु वर्षको सोही अवधिमा ९.१८ प्रतिशतले घटेर १७ करोड ६४ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ। आम्दानी घटेसँगै कम्पनीको कुल नाफा पनि १८.३२ प्रतिशतले घटेर १४ करोड ८६ लाख ८८ हजार रुपैयाँ कायम भएको छ।

अर्कोतर्फ कम्पनीको वित्तीय खर्च भने बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ४ करोड ९८ लाख रुपैयाँ रहेको वित्तीय खर्च चालु वर्षको सोही अवधिमा २६.६६ प्रतिशतले बढेर ६ करोड ३१ लाख रुपैयाँ पुगेको छ। सञ्चालन आम्दानीमा आएको कमी र वित्तीय खर्चमा भएको वृद्धिले कम्पनीको खुद नाफामा थप दबाब परेको देखिन्छ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ यथावत् रहेको छ। जगेडा कोष भने ८८.४४ प्रतिशतले बढेर ८ करोड ९१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै कम्पनीको कुल सम्पत्ति १४.३४ प्रतिशतले बढेर ७ अर्ब ३६ करोड १० लाख रुपैयाँ पुगेको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २ रुपैयाँ ७ पैसा, प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ९४ पैसा र मूल्य आम्दानी अनुपात १२२.५५ गुणा रहेको छ। त्यस्तै कम्पनीको तरलता अनुपात ०.७५ रहेको वित्तीय विवरणमा उल्लेख छ। कम्पनीले २५ मेगावाट क्षमताको काबेली बी–१ जलविद्युत् आयोजनाबाट निरन्तर व्यावसायिक विद्युत् उत्पादन भइरहेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*