नागरिक लगानी कोषको नाफा बढ्यो, अन्य सूचकको अवस्था कस्तो?

२२ कार्तिक २०८३, आईतवार ११:५२

काठमाडौं । नागरिक लगानी कोषको खुद नाफामा सामान्य वृद्धि भएको छ। कोषले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोज मसान्तसम्म ३१ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको पहिलो त्रैमासमा कोषले ३१ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कोषको कुल आम्दानी पनि बढेर ५५ करोड ८१ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ५३ करोड ७२ लाख रुपैयाँ रहेको थियो।

कोषको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको सेवा शुल्क तथा कमिसन आम्दानी बढेर ४६ करोड ९६ लाख रुपैयाँ पुगेको छ। तर ब्याज आम्दानी भने घटेर ५ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको पहिलो त्रैमासमा कोषले ब्याजबाट ९ करोड ७२ लाख रुपैयाँ आम्दानी गरेको थियो।

आम्दानीमा सामान्य सुधार भए पनि कोषको खर्च भने बढेको छ। गत वर्ष ११ करोड ७९ लाख रुपैयाँ रहेको कुल खर्च चालु वर्षको पहिलो तीन महिनामा बढेर १३ करोड ५६ लाख रुपैयाँ पुगेको छ। यसैबीच कोषको कुल स्रोतमा उल्लेख्य विस्तार भएको छ। गत आर्थिक वर्षको असोज मसान्तमा ३ खर्ब १९ अर्ब १५ करोड रुपैयाँ रहेको कोषको कुल स्रोत चालु वर्षको सोही अवधिमा बढेर ३ खर्ब ८२ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ। त्यस्तै कोषको कुल लगानी पनि बढेर ३ खर्ब ४२ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ।

यद्यपि कोषको प्रतिशेयर आम्दानी भने घटेको छ। गत वर्ष १९ रुपैयाँ ४० पैसा रहेको प्रतिशेयर आम्दानी चालु वर्षको पहिलो त्रैमासमा घटेर १८ रुपैयाँ ५८ पैसा कायम भएको छ। त्यस्तै प्रतिशेयर नेटवर्थ पनि १६९ रुपैयाँ ८ पैसा बाट घटेर १५७ रुपैयाँ ११ पैसा पुगेको छ। कोषको लगानीबाट प्राप्त प्रतिफल दरसमेत गत वर्षको ४.८१ प्रतिशतबाट घटेर ४.२७ प्रतिशतमा झरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*