वाणिज्य बैंकको नाफा करीब ४८ अर्ब, नबिललाई पछ्याउँदै ग्लोबल आइएमई, कुनले कति कमाए ?

काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको बैशाखसम्मको अवधिमा करिव ४८ अर्ब रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुुसार सञ्चालित २० वाणिज्य बैंकहरुले १० महिनाको अवधिमा ४७ अर्ब ७९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकहरुको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६७ प्रतिशतले घटेको छ । बैंकहरुले गत आर्थिक वर्षको सोही अवधिमा ४८ अर्ब ६० करोड मुनाफा आर्जन गर्न सफल भएका थिए ।
बैंकहरुले कर्जा प्रवाह गर्न नसक्दा र ऋण असुली प्रभावित भई खराब कर्जा बढेर कर्जा नोक्सानीले गर्दा बैंकहरुको मुनाफा प्रभावित बन्न पुगेको हो । समिक्षा अवधिमा नबिल बैंकले सबैभन्दा बढी मुनाफा आर्जन गरेको छ भने बृद्धिदरमा सरकारी स्वामित्वको नेपाल बैंक रहेको छ ।
नबिल बैंकले सबैभन्दा बढी मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले यस अवधिमा पाँच अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षमा पाँच अर्ब ४६ करोड कमाएको थियो । जुन मुनाफा गत आवको तुलनामा २.५९ प्रतिशतले बृद्धि भएको छ ।
ग्लोबल आइएमई बैंकको मुनाफा २९.८९ प्रतिशतले बृद्धि भएको छ । बैंकले बैशाख महिनासम्ममा पाँच अर्ब ३५ करोड रुपैयाँ मुनाफा कमाएको छ । अघिल्लो बैशाख महिनामा बैंकले चार अर्ब १२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुनाफा ३३ प्रतिशतले बृद्धि भएर पाँच अर्ब दुई करोड रुपैयाँ रहेको छ भने एभरेष्ट बैंकको मुनाफा तीन अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
यता, नेपाल बैंकको मुनाफा ४५७ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । बैंकको मुनाफा तीन अर्ब २८ करोड रुपैयाँ रहेको छ । यस अवधिमा एनएमबि बैंकले दुई अर्ब ६२ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले दुई अर्ब ५८ करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टड बैंकले दुई अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएका छन् ।
समीक्षा अवधिमा लक्ष्मी सनराइज बैंकले दुई अर्ब १५ करोड रुपैयाँ, सिद्धार्थ बैंकले दुई अर्ब एक करोड रुपैयाँ, प्रभु बैंकले दुई अर्ब रुपैयाँ, सानिमा बैंकले एक अर्ब ८७ करोड रुपैयाँ र राष्ट्रिय बाणिज्य बैंकले एक अर्ब ७७ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।












