वाणिज्य बैंकहरुले असार महिनाको नयाँ ब्याजदर सार्वजनिक, कुनको घट्यो, बढ्यो?

काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन।
जेठ महिनाको तुलनामा वाणिज्य बैंकहरुको ब्याजदर केही घटाएका छन् ।
जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषत ५।९५२ प्रतिशतविन्दु रहेकोमा असार महिनामा ०।०५ प्रतिशतविन्दु घटेर ५।९०२ प्रतिशतविन्दुमा झरेको छ।
२० मध्ये १५ बैंकहरुले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा ५ बैंकहरुले ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घट्न पुगेको हो। असार महिनाका लागि ब्याजदर घटाउने बैंकहरु कृषि विकास बैंक, कुमारी बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक र एनआईसी एशिया बैंक रहेका छन्।
असार महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर एभरेष्ट बैंक र एनआईसी एशिया बैंकमा बढी छ। यी दुबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ६।५५ प्रतिशतका दरले ब्याज दिने भएका छन्। यस्तो निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंकहरु भने कृषि विकास बैंक र नेपाल बैंक रहेका छन्। यी दुई बैंकहरुको यस्तो निक्षेपको अधिकतम ब्याजदर ५।४५ प्रतिशत रहेको छ।













