देशको समग्र विकासमा कला, साहित्य र संस्कृतिहरुको महत्वपूर्ण भुमिका हुन्छ: मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको समग्र विकासमा कला, साहित्य र संस्कृतिहरुको महत्वपूर्ण भुमिका रहने धारणा व्यक्त गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवको अवसरमा आयोजित विचार गोष्ठी तथा अग्रज सम्मान कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपाली भाषा, साहित्य र संस्कृति प्रवद्र्धनमा प्रतिष्ठानले पु¥याउँदै आएको भूमिका प्रशंसनीय रहेको बताए ।
उनले भने, ‘देशको समग्र विकास र समृद्धिका लागि साहित्य, कला र संस्कृति अनिवार्य पाटो हुन् । भौतिक पूर्वाधारको विकास मात्रले समृद्धि हासिल हुँदैन, साँचो समृद्धि त मौलिकता, पहिचान र सिर्जनशीलताको संरक्षणबाट सम्भव हुन्छ ।’
मन्त्री भण्डारीले नेपाल प्रज्ञा प्रतिष्ठानलाई अझ सशक्त, समावेशी र यथार्थपरक संस्थाको रूपमा अगाडि बढाउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत स्पष्ट गरेका छन् । उनले साहित्य, कला र संस्कृतिको विकास र संरक्षणलाई राष्ट्रिय गौरव र कर्तव्यको रूपमा लिनु पर्ने आवश्यकता औंल्याउँदै भने, ‘हामी जतिसुकै प्रविधिमा अघि बढे पनि सांस्कृतिक मूल्य र राष्ट्रिय चेतनाको संरक्षणबिना त्यो विकास दीगो हुन सक्दैन ।’
कार्यक्रममा उनले सिर्जनात्मक साहित्य, मौलिक कला र संस्कृतिको जगेर्ना गर्न सबै सरोकारवालाहरूबीच सहकार्यको खाँचो औँल्याए । ‘हामीले आत्मगौरवका लागि हाम्रो पहिचान बोकेको संस्कृति, भाषा र कला जोगाउनैपर्छ ।’ उनले भने ।













