प्रधानमन्त्री कार्यालयमै थुनिन थाले कर्मचारी, कानुनी शासनको धज्जी

काठमाडौं । सरकारी कर्मचारीलाई पक्राउ गरेर प्रहरीको नियमित हिरासतबाहिर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै थुनेर राखिएको विवरण सार्वजनिक भएको छ । जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रधानमन्त्री कार्यालयमा थुनेर राखिएको विवरण सार्वजनिक भएको हो ।
बिहीबार प्रहरीले रजौरियालाई सिरहाको लहानबाट र रिजाललाई सिन्धुलीबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो । तर काठमाडौं ल्याइएपछि उनीहरू प्रहरीका कुनै पनि कार्यालयको हिरासतमा नरहेको बताइएको छ । दुवैलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नियन्त्रणमा राखिएको छ ।
दुवै अधिकारीलाई नियन्त्रणमा लिनुको कारण राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण डाइभर्सनको ठेक्का प्रक्रिया रहेको बताइएको छ । आयोजनाको ठेक्का एकपटक रद्द भएपछि पुनः प्रक्रिया अघि बढाइएको थियो । नयाँ प्रक्रियाअन्तर्गत तीन चिनियाँ कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका थिए । तीमध्ये चाइना इन्टरनेशनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन, एन्नेङ–आरसीसी जेभी र सिनोहाइड्रो कर्पोरेसन लिमिटेड रहेका छन् ।
उक्त ठेक्काको आर्थिक प्रस्ताव खोल्ने मिति कात्तिक १६ गते तोकिएको थियो । तर प्रधानमन्त्रीको सचिवालयबाट ठेक्का प्रक्रिया पुनः रद्द गरी नयाँ प्रक्रिया सुरु गर्न दबाब दिइएको र यही विषयसँग जोडेर विभागका महानिर्देशक र आयोजना निर्देशकलाई नियन्त्रणमा लिइएको बताइएको छ । यसअघि अख्तियारका पदाधिकारीहरुलाई पनि प्रधानमन्त्री कार्यालयमा नियन्त्रणमा राखिएको भन्दै संसदमा विरोध समेत भएको थियो ।











