जलविद्युत् बीमामा देखिएको अवरोध चाँडै हट्छ: प्राधिकरण अध्यक्ष ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सरद ओझाले जलविद्युत् बीमामा देखिएका सम्पूर्ण समस्या चाँडै समाधान हुने गरी प्राधिकरणले काम गरिरहेको बताएका छन्। नेपाल बीमा तथा जोखिम व्यवस्थापन संघको छैठौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष ओझाले बीमा क्षेत्र व्यवस्थापनमा संघको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै बीमा क्षेत्रलाई अझ व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउन प्राधिकरणले निरन्तर मिहिनेत र सुधारका प्रयास गरिरहेको बताए। जलविद्युत् बीमालाई थप सहज बनाउन बीमा प्राधिकरण, बीमा कम्पनीहरू र हाइड्रोपावर प्रवर्द्धकहरूबीच समन्वय आवश्यक रहेको धारणा राखे।
उनका अनुसार राज्यको प्राथमिकतामा रहेका जलविद्युत् आयोजनाको उचित बीमा हुन नसक्दा उद्देश्यअनुसारको लगानी भित्र्याउन कठिनाइ भइरहेको छ। ‘आउँदो दिनमा सबैलाई लाभ हुने गरी हामीले बाटो तय गर्नुपर्छ’ ओझाले भने।
बीमा क्षेत्रमा पहिचान भएका समस्या निरन्तर समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले बीमा क्षेत्रलाई सरल, पारदर्शी र अझ विश्वासिलो बनाउनेतर्फ प्राधिकरण लागिरहेको बताए।













