नेपाल एसबिआई बैंकले असार ३० गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले यही असार ३० गतेदेखि १० वर्षे अवधि र वार्षिक ७ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘७% नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ निष्कासन गर्ने भएको छ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले जम्मा ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने जनाएको छ।
बैंकले बाँकी १२ लाख कित्ता ऋणपत्र मध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ११ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
यसमा आवेदन दिंदा कम्तीमा २५ कित्ताका लागि आवेदन दिनु पर्नेछ। निष्कासन बन्द छिटोमा साउन १ गते र ढिलोमा साउन १२ गते हुनेछ।
यसमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका साथै नेपाल एसबिआई बैंक र धितोपत्र बोर्डबाट अनुमति पाएका सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो शेयर अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।












