बीमा प्राधिकरणद्वारा ११३ वटा उजुरी फछर्यौट

काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल ११३ वटा उजुरी फछर्यौट गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार ११ महिनाको अवधिमा प्राधिकरणले सो उजुरीहरु फछर्यौट गरेको हो ।
समीक्षा अवधिमा केन्द्रिय कार्यालय र प्रदेश कार्यालयसहित २०९ वटा उजुरी दर्ता भएका छन् । गत आर्थिक वर्षका बाँकी रहेका निवेदन २८७ वटा रहेको छ भने पुनरावेदनबाट ३ वटा मुद्दासहित कुल ४९९ वटा उजुरी रहेका छन् ।
प्राधिकरणले ७७ वटा उजुरीमा फैसला सुनाएको छ भने ३६ वटा मुद्दामा सहमति गराएको विवरणमा उल्लेख गरिएको छ । गत वर्षको तुलनामा प्राधिकरणको उजुरी फछर्यौटमा कमि आएको छ । प्राधिकरणले गत आवको सोही अवधिमा १५० वटा उजुरी फछर्यौट गरिएको थियो ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्यांक अनुसार कुल ३८६ वटा उजुरीहरु फछर्यौट हुन बाँकी रहेको छ । गत आर्थिक वर्षको तुलनामा बाँकी रहेका उजुरीको संख्या पनि बढेको छ ।













