शोधनान्तर स्थिति करिव पाँच खर्ब बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष जेठ मसान्तसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको हो ।
अघिल्लो आवको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधान्तर स्थिति ३ अर्ब ६२ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २० करोड रुपैयाँले बचतमा रहेको थियो ।
समिक्षा अवधिमा चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता दुई खर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोड रुपैयाँले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब २६ करोड रुपैयाँले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ९६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा ११ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ८ अर्ब २४ करोड रहेको थियो ।












