मौद्रिक नीतिमा दीर्घकालीन दृष्टिकोणको खाँचो छः पूर्व अर्थमन्त्री महत

काठमाडौं । पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले हालको मौद्रिक नीति अस्थिर ढंगले सञ्चालन भइरहेको भन्दै दीर्घकालीन समाधान ल्याउने आवश्यकतामा जोड दिन आग्रह गरेका छन् । अर्थ समितिको बैठकमा मौद्रिक नीति सम्बन्धी छलफलका क्रममा बोल्दै उनले अत्यधिक कर्जा प्रवाहपछि एक्कासी कडाइ गर्ने प्रवृत्तिले अर्थतन्त्रमा अनिश्चितता सिर्जना गर्ने बताए।
उनका अनुसार साना कर्जाको पहुँच नपाईरहेका सर्वसाधारणलाई समस्या परिरहेको छ भने ठूला कर्जाका लागि बैंकहरू सहज देखिएका छन्। यस्तो अवस्थामा मौद्रिक नीतिले व्यवसायिक कृषि गर्न चाहनेहरूलाई प्राथमिकतामा राख्दै अनुकूल वातावरण तयार गर्नुपर्ने धारणा व्यक्त गरे।
पूर्वमन्त्री महतले पछिल्लो समय नियमनकारी निकायको सुपरिवेक्षण क्षमतामा कमी देखिएको उल्लेख गर्दै नियमनकर्ताको संख्यामा मात्र बृद्धि भएको बताए। निजि क्षेत्रको भूमिकालाई अझ सक्रिय बनाउन प्रोत्साहन दिने नीति अवलम्बन गर्नुपर्ने उनले सुझाए।
पुँजी बजारप्रति संकेत गर्दै उनले कमजोर वित्तीय अवस्था भएका कम्पनीहरूको शेयर मूल्य कृत्रिमरूपमा बढिरहेको भन्दै यसमा नियामक निकायले गम्भीर ध्यान दिनुपर्ने बताए। सहि लगानीकर्तालाई प्रोत्साहन गर्ने खालका नीति आवश्यक रहेको उनको भनाइ थियो ।
अहिलेको मौद्रिक नीति तत्कालीन परिस्थितिमा प्रतिक्रिया जनाउने खालको मात्रै नभई दीर्घकालीन संरचना सुधार गर्ने दिशा तर्फ उन्मुख हुनुपर्ने उनको भनाई रहेको छ।












