गभर्नर पौडेलको पहिलो मौद्रिक नीति आज सार्वजनिक हुँदै, अर्थतन्त्र चलायमान बनाउने कस्तो छ रणनीति ?

२७ असार २०८२, शुक्रबार १०:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंकका उच्च स्रोतका अनुसार गभर्नर डा. विश्वनाथ पौडेलको अध्यक्षतामा अहिले सञ्चालक समितिको बैठक बसिरहेको छ र बैठकले मस्यौदा पारित गरेलगत्तै नीति सार्वजनिक गरिनेछ।

सञ्चालक समितिबाट स्वीकृति प्राप्त भएपछि गभर्नर पौडेलले पत्रकार सम्मेलनमार्फत नीति सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ। गभर्नर पौडेलको नेतृत्वमा बन्न लागेको यो पहिलो मौद्रिक नीति भएकाले उनले बजारमैत्री र उदार खालको नीति ल्याउने तयारी गरेका छन्।

गभर्नर पौडेलले मौद्रिक नीतिमार्फत गैर बैंकिङ क्षेत्रका समस्याहरू समाधान गर्न एसेट म्यानेजमेन्ट कम्पनी स्थापना र डिजिटल बैंकिङ प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित नियो बैंक स्थापना प्रस्ताव अघि सार्ने तयारी गरेका छन्। यसअघि सार्वजनिक बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले पनि यस्ता संस्थाहरूको घोषणा गरेका थिए। सोही घोषणालाई कार्यान्वयनमा लैजाने गरी गभर्नर पौडेलले नीति ल्याउन लागेका हुन्।

आजको मौद्रिक नीति मार्फत बैंकिङ क्षेत्र, पूँजी बजार, विदेशी विनिमय नीतिमा केही लचकता देखाइने अनुमान गरिएको छ। हाल बैंकहरूले सामना गरिरहेको तरलता व्यवस्थापन, कर्जाको प्रवाह र मुद्रास्फीति नियन्त्रणजस्ता विषयमा गभर्नरको नीति स्पष्ट हुने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*