मौद्रिक नीति विश्व अर्थतन्त्रको यथार्थ बुझेर बनाइएकोः गभर्नर विश्व पौडेल

२७ असार २०८२, शुक्रबार १२:५०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीति विश्व तथा राष्ट्रिय अर्थतन्त्रको यथार्थ अवस्थालाई ध्यानमा राखेर लचिलो र सन्तुलित ढंगले तयार गरिएको गभर्नर विश्व पौडेलले बताएका छन्।

विश्वव्यापी भूराजनीतिक तनाव, केही राष्ट्रहरूको कठोर नीतिगत हस्तक्षेप तथा आर्थिक अस्थिरताका कारण हाल विश्व अर्थतन्त्र ओरालो लाग्ने संकेत देखिएको गभर्नर विश्व पौडेलको भनाइ छ। उनले भने, ‘मुद्रा स्थितिमा समेत घट्ने प्रक्षेपण गरिँदैछ, जसले गर्दा मौद्रिक नीतिमा लचिलोपन आवश्यक भएको हो।’

गभर्नरका अनुसार विश्वका धेरै राष्ट्रहरूले हाल लचिलो मौद्रिक नीति अवलम्बन गरिरहेका छन्। नेपालले पनि त्यही धारमा नीति ल्याएको छ, जसले विदेशी विनिमय सञ्चिति सुदृढ पार्नुका साथै बैंकिङ प्रणालीमा तरलता सहज बनाउने विश्वास लिइएको छ।

‘बढ्दो तरलताको अवस्था देखिएको छ, जसले गर्दा ब्याजदरमा समेत सुधार आउन थालेको छ’ विश्व पौडेल बताए। तर, बैंक तथा वित्तीय संस्थाहरूको गैरबैंकिङ सम्पत्ति, खराब कर्जा वृद्धि, र कर्जामा पर्ने कालोसूचीका कारण थप चुनौती देखा परिरहेको उनले स्वीकार गरे।

गभर्नरले थपे, ‘नियमित तथा प्रभावकारी अनुगमन प्रणालीलाई अझ मजबुत बनाउँदै जाँदा मात्र वित्तीय प्रणालीको स्थायित्व सम्भव हुन्छ। त्यसैले अनुगमनलाई थप चुस्त बनाउने योजना पनि मौद्रिक नीतिमा समावेश गरिएको छ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*