ऋण नतिरेपछि रुप ज्योतीको एनजीएम र ग्राण्डी अस्पताल लिलामीमा, नेपाल बैंकले निकाल्यो सूचना

काठमाडौं । नेपाल बैंकले ऋण असुली प्रक्रिया अघि बढाउँदै रुप ज्योतीसँग सम्बन्धित दुई कम्पनी लिलामीमा राखेको छ। बैंकले कान्तिपथ शाखाबाट लिएको कर्जा समयमै नतिरेको र पटक–पटक ताकेता गर्दा पनि चित्तबुझ्दो जवाफ नपाएपछि ३५ दिने सूचना जारी गर्दै लिलामी प्रक्रिया प्रारम्भ गरेको हो।
पूर्वअर्थ सहायक मन्त्रीसमेत रहेका ज्योतीका नेपाल जनरल मार्केटिङ (एनजीएम) र ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटलले लिएको ऋण तिर्न आनाकानी गरेपछि बैंकले अन्तिम सूचना सार्वजनिक गरेको हो।
बैंकले कर्जा चुक्ता गर्न ३५ दिनको समय तोक्दै सो अवधिमा ऋण तिर्न नसके धितो जफत गरेर लिलामी प्रक्रियामा लैजाने चेतावनी दिएको छ। साथै, बैंकले रुप ज्योती र सम्बन्धित कम्पनीलाई कालोसूचीमा राख्ने तयारीसमेत गरिरहेको छ।
एनजीएममा रुप ज्योतीका छोरा अभिक ज्योती र छोरी सूरुची ज्योती सेयरधनी छन् भने खुद रुप ज्योती पनि ऋणको जमानीदाताको रूपमा नाम जोडिएका छन्। यस्तै, ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटलमा एनजीएमसँगै जय स्पिनिङ मिल्स र स्याकार कम्पनीको समेत लगानी रहेको छ।












